मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मिडिया काउन्सिल विधेयकको पत्रकार महासंघको विरोध

मिडिया काउन्सिल विधेयकको पत्रकार महासंघको विरोध


पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले सरकारले हालै संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोध गरेको छ । 
 
विधेयकका सम्बन्धमा छलफल गर्न महासंघ कास्कीद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा स्वतन्त्र प्रेसविरुद्ध विधेयक आएको भन्दै महासंघ केन्द्रको निर्णयअनुरुप विरोध कार्यक्रम सञ्चालन गर्ने महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । 
 
उनले संविधानको मर्म र भावना विपरीत स्वतन्त्र प्रेसलाई सङ्कुचन गर्ने किसिमबाट विधेयक आएको भन्दै प्रेस विरोधी प्रावधान हटाइनुपर्ने धारणा राखे । नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकारिताको व्यावसायिक मर्यादा विपरीत विधेयक आएको बताउँदै मिडिया काउन्सिल सरकार मातहत हुन नहुनेमा जोड दिए । 
 
प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले लोकतन्त्र एवम् प्रेस स्वतन्त्रता एकापसका परिपूरक भएको उल्लेख गर्दै सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पूर्ण स्वतन्त्र प्रेसको पक्षमा हुनुपर्ने बताए । 
 
पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष नारायण कार्कीले नेपालका राजनीतिक पार्टीहरूले सत्तामा रहँदा र बाहिर रहँदाको प्रेसलाई हेर्ने दृष्टिकोण फरक रहेको धारणा राखे । स्वतन्त्र प्रेसको रक्षाका लागि मिडिया काउन्सिल गठनविरुद्ध सम्पूर्ण सञ्चारकर्मी एकताबद्ध बन्नुको विकल्प नभएकामा उनको जोड थियो ।
 
नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम राना, महासङ्घ कास्कीका सचिव रामप्रसाद तिमिल्सिना लगायतले स्वतन्त्र प्रेसको आवश्यकता सम्बन्धमा आ–आप्ना धारणा राखेका थिए । 
 
पत्रकार महासंघको कास्कीको सभाहलमा आयोजित कार्यक्रममा नागरिक समाज, सुरक्षाकर्मी र पत्रकार संघ आबद्ध विभिन्न संघसंस्था एवम् सञ्चारकर्मीको सहभागिता रहेको थियो ।