मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुरक्षासँगै विकासको काममा अगाडि बढ्छौँ : प्रहरी महानिरीक्षक

सुरक्षासँगै विकासको काममा अगाडि बढ्छौँ : प्रहरी महानिरीक्षक


काभ्रे । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षासँगसँगै विकासको काममा अगाडि बढ्नुपर्ने बताएका छन् । 
 
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण भएको हिरासत कक्षसहितको ब्यारेक भवन, अगुवा प्रहरी अधिकृत आवास र भान्सा घरको आज उद्घाटन गर्दै उनले विभिन्न अपराधको वर्गीकरण गरेर अपराधीका रुपमा भन्दा पनि उनीहरुलाई सामाजिकीकरण गर्दै सुधार गरेर अगाडि बढाउनुपर्ने बताए । कारागारलाई सुधार केन्द्रका रुपमा विकास नगर्दा अपराधीले भित्रैबाट अखडा खडा गरी टेलिफोनमा धम्की दिएर विकास निर्माणका काममा असर पारेको खनालको भनाइ थियो ।
 
“प्रहरीले सुरक्षासँगै विकास निर्माणको काममा अगाडि बढ्नुपर्ने अवस्था आएको छ”, उनले भने । 
 
सङ्घीय संरचनाअनुसार प्रहरीले त्यही अनुसारका कार्यक्रम अगाडि सारिसकेको र  अहिले प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्न तीन÷तीन लाख रकम पठाइसकेको खनालले बताए । उनले स्थानीय सरकारसँग मिलेर शहरमा सिसिटिभी राख्ने काम शुरु भएको उल्लेख गर्दै त्यसले अपराध नियन्त्रण र अनुसन्धान गर्नेमात्रै नभई विकास निर्माणको काममा बाधक तत्वहरु के के छन् भनेर हेर्ने र कसले फोहर फाल्यो भन्नेसम्मको काम गर्ने भएकाले त्यस्तो काममा स्थानीय सरकार र प्रहरीसँगसँगै जानुपर्ने बताए । 
 
विकास निर्माणको काम कुनै पनि कारणले (गलत तत्वहरु आएर थर्काए भन्ने कारणले) रोकिन नहुने महानिरीक्षक खनालको भनाइ थियो । 
 
धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले अबको युगमा प्रहरी बाटोको चोकमा बस्ने नभई डिजिटल प्रविधिको प्रयोग गरी कन्ट्रोल रुमबाटै शान्तिसुरक्षा व्यवस्थापनको निरीक्षण गर्ने काम गर्नुपर्ने बताए । उनले प्रहरीले हिरासतमा राखिएकालाई पनि सुधार्ने,  सीपयुक्त बनाउने र चेतनामा परिवर्तन ल्याउनेमा अगाडि बढ्नुपर्ने बताए । 
 
नयाँ भवनको ६ कोठामा एक/एक टेलिभिजन राख्न नगरपालिकाले सहयोग गर्ने उनले बताए ।
 
जिल्ला प्रहरी कार्यालय धुलिखेलको ब्यारेक भवन भूकम्पले भत्काएपछि सरकारको नियमित बजेट र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा पुनर्निर्माण गरिएको हो । रु ६ करोड ८४ लाख २० हजारको लागतमा पाँच भवन निर्माण गरिएको प्रहरी नायब निरीक्षक ईश्वर थापाले बताए । 
 

शेयर गर्नुहोस:

0
Shares