धुलिखेल । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपालको सार्वभौमिकसत्ता खलबल्याउने गतिविधि हुन थालेकाले गैरसरकारी संस्थालाई नियमन गर्न लागिएको बताएका छन् ।
मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकस्थित गैरसरकारी संस्था महासंघ नेपालको १६औँ वार्षिक साधारणसभा तथा ८औँ जिल्ला अधिवेशनलाई धुलिखेलमा सम्बोधन गर्दै केही गैससका गतिविधिले नेपालको सार्वभौममाथि खतरा पर्ने देखिएपछि नियमन गर्न लागिएको बताए ।
उनले भने,“बाह्य सहयोग स्वीकार्नुपर्छ तर नेपालको अखण्डता र सार्वभौमिकतामा आँच पुग्ने काम गर्न पाइँदैन ।” उनले सरकारको उद्देश्य गैससलाई नियमन गर्ने नै भएको उल्लेख गर्दै पारदर्शी तवरले काम गर्ने गैससलाई कसैले नरोक्ने बताए ।
“बाह्य सहयोग कति हार्डवेयरमा, कति सफ्टवेयरमा लेखाजोखा हुनुपर्छ”, उनले भने, “हामी गैससलाई एउटै डालोमा पनि राख्दैनौँ, छलफल गरौँला, नीति कानून बनाउने बेलामा तपार्इँहरूको सुझावको अपेक्षा गर्छौँ ।”
रेडक्रसजस्तो पवित्र संस्थामा समेत ‘हिनामिना’ देखिएपछि सबैलाई विश्वास गर्न सक्ने वातावरण नभएको उनले जिकिर गरे ।
मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल पनि निमयन हुनुपर्ने बताउउँदै भने, “निर्वाचनको स्वच्छतामाथि प्रश्न उठेपछि फेसबुकका जन्मदाताले आफैँले नियमन गर्नुपर्दछ भनेका छन्, यसप्रति गम्भीर हुनु आवश्यक छ ।”
उनले लोकतन्त्रमा छाडातन्त्र हावी हुनसक्ने खतरा बढेकाले सामाजिक सञ्जाल नियमन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
मन्त्री बाँस्कोटाले फरक प्रसंगमा ‘बालुवाटार प्रकरण सन्त नेताबाटै सुरु भएकाले’ प्रतिपक्षले यसका विषयमा ठूला भाषण गर्दा स्वयंलाई अप्ठेरो पर्ने जिकिर गरे । वैदेशिक रोजगारीको आकर्षणसँगै ‘तेल भिसा’ले परिवार बिखण्डनतिर जाने खतरा बढेकाले यसप्रति सरकार सचेत बन्दै गएको उनले बताए ।






प्रतिक्रिया