मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बालुवाटार जग्गा प्रकरणमा दोषीमाथि कारबाही गर्न कांग्रेसको माग

बालुवाटार जग्गा प्रकरणमा दोषीमाथि कारबाही गर्न कांग्रेसको माग


काठमाडौं । नेपाली कांग्रेसले बहुचर्चित बालुवाटार जग्गा प्रकरणका दोषीमाथि कारबाही गर्न माग गरेको छ । 
 
मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिनका साथ कुनै पनि मोलाहिजा वेगर दोषीमाथि कारबाहीको माग गरेका छन् ।
 
बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति नेपाली कांग्रेसले सार्वजनिकरुपमा आपक्ति व्यक्त गर्दै आएको छ । वैशाख २५ मा शुरु हुने ‘राष्ट्रिय जागरण अभियान’ मा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज उठाउने कांग्रेसले जनाएको छ ।
 
प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, वैशाख १६ गते प्रतिनिधिसभाको बैठकमा स्वयं सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरणबारे पार्टीका तर्फबाट कडा अभिमत व्यक्त गरिसक्नु भएको छ । नेपाली कांग्रेस सो प्रकरणको गहिरो छानबिन गरेर दोषीलाई दण्डित गरिनुपर्ने विषयमा एकमतका साथ प्रष्ट रहेको धारणा दोहोर्‍याउन चाहन्छ ।
 
कांग्रेसले बालुवाटारको जग्गा को व्यक्तिका नाममा, कसरी पुग्यो,  त्यसमा को संलग्न थिए र छन् भन्ने विवरण यसबीचमा तथ्य प्रमाणका साथ सार्वजनिक भएको बताएको छ । 
 
दोषीलाई जोगाउने ढंगले, विषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजगताका लागि पनि कांग्रेसले सबैमा अपिल गरेको छ ।
 
विज्ञप्तिमा भनिएको छ, तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कारबाहीका लागि आम नागरिकको सजगता, सञ्चार माध्यमहरुको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मीहरुको इमानदारितासँगै प्रतिपक्षको दबाब र सरकारको इमान्दार विवेक यतिबेला परीक्षाको कसिमा छ । नेपाली कांग्रेस बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिनका साथ कुनै पनि मोलाहिजा वेगर दोषीमाथि कारबाहीको माग पुनः दोहोर्‍याउन चाहन्छ ।
 

शेयर गर्नुहोस:

0
Shares