मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपत्यकामा हर्न बजाउन निषेध गरिए पनि कार्यान्वयन भएन

उपत्यकामा हर्न बजाउन निषेध गरिए पनि कार्यान्वयन भएन


काठमाडौँ । काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरे पनि त्यसको कार्यान्वयन फितलो देखिएको छ । 
 
काठमाडौँ महानगरपालिकाले २०७४ वैशाख १ गतेबाट काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणको अभ्यास सुरु गरेको थियो । दुई वर्ष बितिसक्दासम्म सडकको मुख्य स्थानमा प्रसस्तै मात्रामा सवारी साधनहरुले ध्वनि प्रदूषण गरिरहेका छन् । 
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाको अग्रसरतामा कामपा र यातायात व्यवस्था विभागको सहकार्यमा उक्त नियम लागू भएको हो । तर, कार्यक्रम सुरु भएको दुई वर्ष बितिसक्दासम्म उपत्यकामा सवारी साधनका ध्वनिहरु प्रसस्तै सुनिन्छन् ।
 
यो अवधिमा नियम कार्यान्वयनको प्रभाव भने आंशिकमात्र देखिन्छ ।  कार्यान्वयन पक्ष त्यति प्रभावकारी देखिएको छैन । कार्यक्रम लागू गर्न कामपाले एकहप्तादेखि सडकको चोक चोकमा ‘नो हर्न ’कार्यक्रमबारे ब्यानरहरु टाँसी जानकारी पनि दिएको थियो । कार्यक्रम सुरु भएको केही समय कार्यान्वयन पक्ष सन्तोषजनक रहे पनि अहिले त्यो अवस्था देखिँदैन ।
 
सवारी चालकहरुले उक्त नियमलाई कार्यान्वयन गर्नतर्फ भन्दा पनि पुरानै शैलीमा सवारी हाँकिरहेका देखिन्छ । दैनिकरूपमा बढी रहेको सवारी साधन र कार्यान्वयनको अवस्था फितलो हुँदा उपत्यकाबासी ध्वनि प्रदूषणको मारमा परेको प्रष्ट हुन्छ । हाल काठमाडौँ उपत्यकामा १२ लाख सवारी साधनहरु गुड्ने गरेका छन् ।
 
उता कामपाले भने ‘नो हर्न’ कार्यक्रम प्रभावकारी भएको दावी गरेपनि त्यस किसिमको अवस्था रहेको पाइँदैन । कापमाका प्रवक्ता ईश्वरमान डङ्गोल केही स्थान र नयाँ चालकले उक्त नियमको उल्लंघन गरे पनि नियमितरूपमा उपत्यकामा सवारी चलाउने चालकहरुले उक्त नियमको पूर्णरूपमा कार्यान्यवन गरेको दाबी गर्छन् ।  
 
उपत्यकामा वातावरणलाई स्वस्थ राख्न र ट्राफिक जामको समस्या कम गर्नका लागि सरकारको अग्रसरतामा केही ठूला बस ल्याउने तयारी पनि गरिएको छ । कामपाले पनि साझा सहकारीको सहकार्यमा केही साझा बस ल्याएको छ भने केही बस थप गर्ने तयारीमा छ । त्यसैगरी अन्य निजी कम्पनीले पनि ठूला बस ल्याउने क्रम जारी रहेपनि सार्वजनिक यातायात साधनको अभाव कम भएको छैन ।  
 
तत्कालीन महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामा, कामपाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेल र यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूपनारायण भट्टराईले यस कार्यक्रमको सुरुआत गरेका थिए । 
 
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जयराज सापकोटाका अनुसार उपत्यकाको मुख्यमुख्य सडक चोकमा सवारी साधनमार्फत ध्वनि प्रदूषण गर्ने हालसम्म २५ हजार चालकलाई कारबाही गरिसकेको बताउँछन् ।  
 
कारबाहीमा पर्नेमा बढी मात्रामा उपत्यकाभन्दा पनि बाहिरी जिल्लाबाट भर्खर आएका चालक पर्ने गरेको प्रहरी महाशाखाले जानकारी गराएको छ । बाहिरी जिल्लाबाट आएका नयाँ चालक धेरै पर्छन् । नियम नै थाहा नभएकाले कतिपय अवस्थामा सचेत गराएर छाड्ने गरिएको छ । 
 
विशेषगरी कोटेश्वर, नयाँ बानेश्वर, थापाथली, कलङ्की, चक्रपथ, चावहिल महाराजगञ्जलगायत चक्रपथका मुख्य चोकमा सवारी साधनले उक्त नियम उल्लङ्घन गर्ने पाइएको ट्राफिक महाशाखाले जनाएको छ । 
 
अस्पताल, विद्यालय र मानिसको बाक्लो उपस्थिति रहने स्थानमा हर्न बजाउँदा त्यसको नकारात्मक असर धेरै हुने गरेको छ । यसले कानको जाली र भित्री जालीमा असर गर्छ । कानको भित्री कोषसम्म असर पार्छ र श्रवणशक्तिमा ह्रास गराउँछ । 
 
सधैँ चर्को हर्न बज्ने स्थानमा बस्ने मानिसको मुटु सामान्य स्थानमा बस्ने मानिसको तुलनामा कमजोर हुन्छ । चर्को हर्नले मानव मस्तिष्कमा विभिन्न किसिमका नकारात्मक रसायनहरु उत्पादन गराउँछ । रासस

शेयर गर्नुहोस:

0
Shares