मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्राध्यापकलाई मोसो दल्ने विद्यार्थीलाई कडा कारबाहीको माग

प्राध्यापकलाई मोसो दल्ने विद्यार्थीलाई कडा कारबाहीको माग


भरतपुर । कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुरका सहायक डिनलाई कालो मोसो दलेर दुव्र्यवहार गर्ने विद्यार्थीहरुलाई कडा कारबाही गर्नुपर्ने प्रजातन्त्रवादी प्राध्यापक संघले माग गरेको छ । विश्वविद्यालयका सहायक डिन प्राध्यापक विष्णुराज ओझालाई गएको चैत २१ गते दानवीय शैलीमा कालो मोसो दलेर दुव्र्यवहार गर्ने कृषि संकायका छैटौँ सत्रान्तमा अध्ययनरत विद्यार्थीहरुले अझै पनि गल्ती महसुस नगरेको प्राध्यापक संघको ठहर छ ।
 
दुव्र्यवहार गर्ने सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेललाई विश्वविद्यालयले वैशाख २ गते ६० दिनका लागि निलम्बन गरेको थियो । निलम्बित विद्यार्थीहरुले अझै पनि मिडियामा उत्तेजक अभिव्यक्ति दिँदै आएका प्रजातन्त्रवादी प्राध्यापक संघ, कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर र केन्द्रीय समितिले मंगलबार भरतपुरमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी जनाएको हो । 
 
हिंसात्मक घटनामा संलग्न विद्यार्थीहरुले सामाजिक सञ्जालमा खुलेआम उत्तेजक अभिव्यक्ति दिँदा पनि विश्वविद्यालय र स्थानीय प्रशासनले अभियुक्तहरुलाई पक्राउ गर्न नसकेर कानुनी राज्यको खिल्ली उडाइएको प्रजातन्त्रवादी प्राध्यापक संघ, विश्वविद्यालयका अध्यक्ष प्रा. रामाशिष साहले बताए । अभियुक्तलाई कडा कारबाहीको माग गर्दै प्राध्यापकहरुले विश्वविद्यालयका परीक्षालगायत सम्पूर्ण प्रशासनिक तथा शैक्षिक कार्यक्रमहरु बन्द गराएका छन् । 
 
विश्वविद्यालय, स्थानीय जिल्ला प्रशासन कार्यालय र चितवन प्रहरीले उनीहरुलाई कडा कारबाही नगरे आन्दोलनका कार्यक्रमलाई अझ सशक्त पारिने उनले चेतावनीसमेत दिएका छन् । चार दिनमै कोर्स सकेको भनी विद्यार्थीहरुले लगाएको आरोप निराधार रहेको पीडित प्राध्यापक ओझाले बताए । 
 
आफ्ना दुवै आँखा कमजोर भएकाले तीन दिन पढाएर छाडेको र आँखाको उपचार गरेर आएपछि पुनः पढाउन थाल्ने भनी विश्वविद्यालय प्रशासनलाई जानकारीसमेत गराएको उनको दाबी छ । 
 
विश्वविद्यालयमा हुलहुज्जत गर्ने र प्रमाणपत्र लिनका लागिमात्रै राजनीति गर्न आएका केही विद्यार्थीहरुको समूहले कानुनलाई हातमा लिएर आफूलाई अभद्र व्यवहार गरेको उनको भनाइ छ । अभियुक्तहरुलाई विश्वविद्यालयले ६० दिनका लागिमात्रै निलम्बन गरेर देखावटी कारबाही र यस्ता घटनाहरुलाई प्रश्रय दिन खोजेको प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य उप प्रा. रामहरि तिमिल्सिनाले बताए । यस घटनाले व्यक्तिमाथि मात्र नभई समग्र प्राध्यापन पेसामाथि नै प्रहार भएको संघले ठहर गरेको उनले बताए । 
 
यसैबीच, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले अभियुक्तको किटानीसाथ जाहेरी दिँदा पनि कारबाही हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । कांग्रेसले चाहे जुनसुकै ओहोदामा बसेका व्यक्तिहरुलाई पनि कालो मोसो दल्न सक्ने भन्दै उनले नेपाली कांग्रेसले त्यस्तो नगर्ने र दोषीलाई तत्काल कडा कारबाही गर्न विश्वविद्यालयलाई आग्रह गरेका छन् । 

शेयर गर्नुहोस:

0
Shares