चितवनमा एउटै परिवारका तीन जनाले एकैपटक आत्महत्या गरेका छन् ।
भरतपुर महानगरपालिका–१८ स्थित शशिनगरको सहरी क्लिनिक टोलमा बसोबास गर्दै आइरहेका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार घरभित्र एकै स्थानमा तीन वटा सलको पासोमा अन्दाजी ३३ वर्षीया आमा माया आलेमगर, अन्दाजी १४ वर्षीया छोरी विनिता र अन्दाजी १२ वर्षीय छोरा विवेक झुण्डिएर आत्महत्या गरेका हुन् । स्थानीय मिलन ई। स्कुलमा छोरी विनिता कक्षा ५ र छोरा दिवस कक्षा ७ मा अध्ययनरत थिए ।
एकै स्थानमा तीन जनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाल आर्मीमा काठमाडौंमा कार्यरत रहेको बताइएको छ । आमाले नै छोराछोरीलाई झुण्डिन लगाएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले अनुसन्धानको क्रममा सामूहिक आत्महत्या देखिएको जानकारी दिए । उनले भिसेरा परीक्षणको लागि काठमाडौँ पठाइएकोले रिपोर्ट आएपछि वास्तविकता खुल्ने बताए । प्रवक्ता रेग्मीका अनुसार मृतक तीन जनाको शुक्रबार दिउँसो भरतपुर अस्पतालमा पोष्टमार्टम गरिएको छ ।






प्रतिक्रिया