सधैँभरि विवादमा आइरहने र चर्को राजनीति चलिरहने चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझामाथि नेकपा निकट अनेरास्ववियुले कालोमोसो र जुत्ताको माला लगाएका छन् ।
उसो त विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई आन्दोलन गर्न, तोडफोड गर्न र हड्ताल गर्न कुनै निहुँ चाहिँदैन । प्राध्यापक ओझालाई कालोमोसो र जुत्ताको माला लगाउने बिहीबारको कारण भने कोर्ष चाँडै सकेको भन्ने छ ।
३० दिनमा सक्नुपर्ने कोर्ष चार दिनमा २÷२ घन्टाका दरले ८ लेक्चरमा सिध्याएको र छैठौँ सप्ताहन्तको कोर्ष तीनवटा सेक्सनका १६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर कोर्ष सक्ने गरेको भन्दै कालोमोसो दलिएको विद्यार्थी नेता वामदेव रेग्मीले बताए ।
विद्यार्थीको भविष्यमाथि खेडवाड गरेकाले कारबाही गर्नुपरेको र एउटा प्राध्यापकभन्दा पनि विश्वविद्यालयका समग्र प्राध्यापकहरुको प्रवृतिविरुद्ध आफूहरुको संघर्ष रहेको उनले बताएका छन् ।
नेविसंघ र प्राध्यापक संघको विरोध
यसैबीच, नेविसंघ र प्राध्यापक संघ रामपुर कृषि विश्वविद्यालय इकाइले प्राध्यापकलाई कालोमोसो दलेको विरोधमा विश्वविद्यालयमा बिहीबार कोणसभा गरेका छन् ।
कोणसभामा नेविसंघका पूर्वकेन्द्रीय सदस्य परमेश्वर खनाल, प्राध्यापक संघका पूर्वकेन्द्रीय सदस्य रामहरि खतिवडा, पूर्वकेन्द्रीय सदस्य सरोज रेग्मीले नेकपा निकट अनेरास्ववियुले कृषि संकायका प्राध्यापक तथा सहायक डिन विष्णुराज ओझालाई कांग्रेस निकट भएकै कारण राजनीतिक प्रतिशोधले कालोमोसो दलेको टिप्पणी गरेका छन् ।
नेविसंघका नेता खनालले कक्षामा अनुपस्थित भए पनि हाजिर गर्न लगाएर विद्यार्थीहरुले दुःख दिने गरेकोमा विद्यार्थीले उल्टै विभिन्न आरोप लगाएर कालोमोसो दलेको आरोप लगाए ।
उनले भने, ‘राजनीतिक प्रतिशोध लिएर गरिएको यस्तो अमानवीय घटनालाई नेविसंघ कदापि स्वीकार्न सक्दैन । सरकारले यस्तो घटनामा संलग्नहरुलाई तुरुन्त कारबाही गर्नुपर्छ ।’






प्रतिक्रिया