काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चैत १६ गते आह्वान् गरेको नेपाल बन्द कार्यक्रम फिर्ता लिएको छ ।
स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित आफ्ना नेता कार्यकर्ता पक्राउविरूद्ध चैत १६ गते नेपाल बन्द गर्ने घोषणा गरेको थियो ।
महासचिव विप्लवले शनिबार चार लाख ७५ हजार तीन जना विद्यार्थीको माध्यमिक शिक्षा परीक्षा परेको र परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले परीक्षामा अवरोध नगरीदिनका लागि अपिल गर्नुका साथै नेपाल बार एसोसिएसनको चुनावसमेत परेकाले एशोसिएसनले वक्तव्यमार्फत अनुरोध गरेकाले एक जिम्मेवार पार्टीको हैसियतले उक्त दिनको आमहड्तालका साथै नेपाल बन्दको कार्यक्रम हालका लागि स्थगित गरिएको जनाएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए ।
विप्लवले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउने निहुँमा देशभर गरिएको प्रहरी अपरेशन, हिंसा र गोलीसम्म हान्ने कुकर्मको उचित जवाफ दिने जनाएका छन् । साथै उपयुक्त समयमा नयाँ संघर्षको कार्यक्रम घोषणा गरिने जनाएका छन् ।






प्रतिक्रिया