मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन : वरिष्ठ नेता नेपाल

सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन : वरिष्ठ नेता नेपाल


चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताएका छन् । 
 
प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वार्ता र संवादबाट समस्याको समाधान हुने बताए । उनले भने, “लगानी सम्मेलनको तयारी गरिएको छ, लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर कसरी लगानी सम्मेलन सफल हुन्छ ?” यस्तो अवस्थामा बाह्य र आन्तरिक लगानीमा मान्छेको रुचि नहुने भन्दै उनले त्रास र आतंकमुक्त गर्न राज्यले प्रयत्न गरिरहेको बताए । 
 
त्यसैअन्तर्गत चन्द नेतृत्वको समूहका गतिविधिलाई सरकारले नियन्त्रणमा लिएको उनको भनाइ थियो । उनले भने, “नेत्रविक्रम चन्दले आफैँले पहल गरी शान्तिपूर्ण अवतरण हुने काम गर्नुभयो भने उहाँहरूको पनि शक्ति, ऊर्जा, अनुभव यो देशलाई रुपान्तरण गर्ने काममा प्रयोग हुन्छ ।”
 
वरिष्ठ नेता नेपालले चन्द समूहलाई संवादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको बताए । राज्यले नियन्त्रण गर्ने भनेको तर सिध्याउने नभनेको उनको भनाइ थियो । 
 
राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताउँदै नेपालले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गरे । उनले भने, “व्यक्तिको स्वतन्त्रता होे धर्म छनोट गर्ने तर, कसैले जबर्जस्ती गराउँछ भने दण्डको भागीदार हुनुपर्छ ।”
 
नेपालमा खुलारूपमा क्रिश्चियन धर्म प्रचार गरी प्रभावमा पारेर धर्म परिवर्तन गर्ने कामलाई संविधानले छूट दिएको छैन भने ।
 
उनले कसैले पनि धर्म परिवर्तन लोभलालचमा गराउन नपाउने बताए । नेपालमा हिन्दू धर्मलाई परिवर्तन गर्ने काम भइरहेको भन्दै त्यसलाई दण्डित गर्नुपर्ने उनको भनाइ थियो । 
 
नेता नेपालले होली वाइन बारेको प्रश्नका सन्दर्भमा प्रष्ट पार्दै भन,े “माधव नेपालले होली वाइन खाने कुराको कल्पनासमेत नगर्नुहोस्, म छुँदा’नी छुन्नँ ।” विसंं २०५२ मा पार्टीभित्र मदिरा निषेध गर्न आफूले अभियाननै चलाएको उनको भनाइ थियो । 
 
मन्त्रिमण्डलमा नयाँ अनुहार पठाउने सवालमा नेता नेपालले सरकार गठन भएको एक वर्ष भइसकेकाले कामको मूल्याङ्कन गरी फेरबदल गर्नु उपयुक्त हुने बताए ।

शेयर गर्नुहोस:

0
Shares