चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिँदैमा चूप लागेर बस्न नमिल्ने बताएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताए । पूर्वप्रधानमन्त्री नेपालले भने, “राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।”
उनले डा सिके राउतको समूहलाई विखण्डनको बाटोबाट मूलधारमा ल्याउनु राम्रो भएको बताउँदै असन्तुष्ट पक्षलाई वार्ताको माध्यमबाट छलफल गरेर विश्वासमा लिनुपर्नेमा जोड दिए । असन्तुष्ट पक्षलाई विश्वासमा लिन नेतृत्व नै फराकिलो हुनुपर्नेे बताए ।
नेता नेपालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाउने विषयमा आफूले पत्रपत्रिकाबाट मात्र थाहा पाएको बताए । उनले सरकारलाई विगतका कमजोरीलाई सुधार गर्दै अघि बढ्न सल्लाहसमेत दिए ।
पार्टीका तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकताको प्रसंगमा नेता नेपालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुंगोमा पुग्ने बताउँदै पार्टी स्थापना भएको दिन अप्रिल २२ सम्ममा सम्पूर्ण एकता सम्पन्न गर्नुपर्नेमा जोड दिए । नेता नेपाल महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा चितवन आएका थिए ।






प्रतिक्रिया