काठमाडौँ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको छ । दुर्घटनामा हेलिकोप्टरमा सवारमध्ये ६ जना यात्रु र एकजना चालकको शव फेला परेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले सदरमुकाम फुङलिङबाट तीन घण्टाको पैदल दूरीमा हेलिकप्टर दुर्घटना भएको बताए ।
दुर्घटनास्थल फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न हेलिकप्टर चढेर काठमाडौँबाट बुधबार बिहान ८ बजे गएको थियो ।
दुर्घटनास्थलमा रहेका प्रहरी बेदप्रसाद अर्यालका अनुसार सात वटै शव डढेको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार मन्त्री अधिकारी र नेपाली सेनाका अर्जुनकुमार घिमिरेको शव पहिचान भए पनि बाँकीको पहिचान हुन सकेको छैन ।
उनका अनुसार अरु हेलिकोप्टर ल्यान्ड गर्न सक्ने अवस्था छैन । उडेको पाँच मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।
पाथीभरा मन्दिरबाट डेढ किमी टाढा दुर्घटनामा परेको बताइए पनि कुनै पनि हेलिकोप्टर ल्यान्ड हुन सकेको छैन । शवलाई बोकेर हेलिकोप्टर ल्यान्ड गर्न सक्ने ठाउँमा लैजाने तयारी भएको प्रहरी बेदप्रसाद अर्यालले जानकारी दिए ।
पाइलट प्रभाकर केसीसहित ७ जना सवार एयर डाइनेस्टीको हेलिकोप्टर १ बजेपछि सम्पर्कविहीन भएको थियो । प्रहरीका अनुसार पाथीभराबाट १ बजेर १० मिनेटमा उडेको हेलिकोप्टर पाँच मिनेटमै सम्पर्कविहीन भएको थियो ।
हेलिकोप्टरमा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहाल, अर्जुनकुमार घिमिरे र ध्रुवदास भोछिभया सवार थिए ।
गृहमन्त्रालयले बुधबारै पत्रकार सम्मेलन गरेर घटनाको पुष्टि गर्दै मन्त्री अधिकारीसहित सातैजनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएको जानकारी दिएको छ । गृहमन्त्रालयका अनुसार ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित तारे ढुङ्गा पारीको भीरमा हेलिकोप्टर दुर्घटना भएको हो ।
हेर्नुहोस् मन्त्री रबीन्द्र अधिकारीको अन्तिम सम्बाेधन :






प्रतिक्रिया