चितवन । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले नेकपाले जनताको मतलाई आफूखुसी गर्ने लाइसेन्सको रुपमा प्रयोग गरेको आरोप लगाएका छन् ।
नेपाल शिक्षक संघ भरतपुर महानगर कार्यसमितिको प्रथम स्थानीय प्रतिनिधिसभाको शनिबार उद्घाटन गर्दै महतले जनताले दिएको मतलाई सरकारले गलत प्रयोग गरिरहेको बताएका हुन् ।
असुरक्षा, संस्थागत भ्रष्टाचारमा सरकार लिप्त रहेको भन्दै उनले सरकार काण्डैकाण्डमा परेको बताए । भ्रष्टाचार काण्डमा जबर्जस्ती कांग्रेसलाई पनि तान्न खोजिएको उनको आरोप थियो ।
सरकारले बूढीगण्डकी जलविद्युत् विवादास्पद कम्पनीलाई सुम्पिएको बताउँदै वर्तमान सरकारसँग काम गर्ने सीप, समर्पण र इमान्दारिता केही नरहेको बताए ।
कम्युनिस्टको दूष्चक्रमा रहुञ्जेल देशको विकास हुन नसक्ने उनको भनाइ छ । अहिलेको युग विज्ञापनको युग रहेको भन्दै कांग्रेस सहमहामन्त्रीसमेत रहेका महतले गर्दै नगरेको कामको समेत विज्ञापन गरेर सरकारले जनतामा भ्रम फैलाएको बताए । कमसल काम र विचारलाई विज्ञापन गरेर कम्युनिस्टले जनताको मत पाएको भन्दै उनले राम्रो कामको विज्ञापन गर्न सञ्चारमाध्यम नै कांग्रेससँग नरहेको गुनासो गरे ।
‘नारा दिनका लागि कम्युनिस्टहरु सिपालु छन्’ महतले भने, ‘विज्ञापन गर्नेका पछाडि जनता लागेका छन् ।’ माघ १० गतेको केन्द्रीय समितिको बैठकपछि देशव्यापीरुपमा सदस्यता अभियान सञ्चालन गरिने उनको भनाइ छ ।
सरकारको जनविरोधी कामविरुद्ध कांग्रेस संसद् र सडकमा सशक्त भएर लाग्ने उनले बताए ।







प्रतिक्रिया