टेक्सस । अमेरिका भ्रमणमा आएका चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रको स्वागत तथा सम्मानमा प्रवासी मञ्च अमेरिकाको टेक्सस च्याप्टरले शुक्रबार अर्भिङमा एक कार्यक्रमको आयोजना गरेको छ ।
अमेरिकामा रहेका नेपालीहरुको लगानी भित्राउनका लागि के कस्तो नीति लिन उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गर्नका लागि अमेरिका आएका मिश्रको सम्मानमा मञ्चले कार्यक्रम आयोजना गरेको हो । नगरकोटमा पर्यटकीय होटल बनाउनका लागि अमेरिकामा रहेका नेपालीहरुलाई के कस्ता प्रोत्साहन दिँदा लगानी वृद्धि हुनसक्छ भन्ने विषयमा भेटघाट र अन्तरकृयाका लागि मेयर मिश्र अमेरिका आएका हुन् ।
प्रवासी मञ्च टेक्ससका कार्यवाहक अध्यक्ष चन्द्रमणि पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरुले सुरक्षा, लगानीको प्रतिफल जस्ता विषयमा स्थानीय सरकारले ध्यान दिने हो भने नेपालमा लगानी जानसक्ने सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन मञ्चका सचिव राजेन्द्र वाग्लेले गरेका थिए ।
ड्यालसको रियुनियन टावरको अवलोकनका क्रममा मेयर मिश्रले नगरकोटमा पनि त्यस्तै खालको टावर बनाउने चाहना राखेका थिए । माथिल्लो तल्लामा भ्यू टावर, बीचमा होटल र क्यासिनो, सबैभन्दा पहिलो तल्लामा शपिङमल सञ्चालन गर्न सकेमा नगरकोट पुग्ने पर्यटकहरुको बसाई अवधि लम्ब्याउन सकिने बताएका थिए । यही विषयलाई लिएर अघिल्लो साता वासिङटन डिसीमा नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीको उपस्थितीमा सम्झौता पनि भैसकेको छ ।







प्रतिक्रिया