नेपाल

बिपी राजमार्गमा चार दिन राति सवारी साधन चलाउन रोक

बिपी राजमार्गमा चार दिन राति सवारी साधन चलाउन रोक


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सिन्धुलीस्थित बिपी राजमार्गमा चार दिन राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विशेष मौसमी बुलेटिनका आधारमा असोज ८ गतेदेखि असोज ११ गतेसम्म हरेक दिन बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म बीपी राजमार्गमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

Advertisement

नेपाल मौसम विज्ञान विभागले असोज ५ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार बंगालको खाडीको मध्य भूभाग आसपास विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै उत्तरपश्चिम दिशातर्फ सर्ने र त्यसको प्रभावले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको थियो ।

मौसम प्रतिकूल हुँदा सिन्धुलीका केही तथा सबै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावनालाई ध्यानमा राखी विपद्, सवारी दुर्घटना तथा अन्य जोखिम न्यूनीकरणका लागि रात्रिकालीन आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी आवश्यकताअनुसार दिनको समयमा समेत सवारीसाधन सञ्चालनमा रोक लगाउन वा सञ्चालन गर्न सकिने छ ।

सवारी चालक तथा यात्रुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। राजमार्गमा यात्रा गर्नेहरूले थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको ९८५४०६५५५५, जिल्ला ट्राफिक प्रहरी कार्यालयको ९८५४०९००३६ तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ र ९८५४०५००२४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।’