काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालालाई विभिन्न पार्टीका नेताले कुनै एक पार्टीको मात्र नेता नभई सम्पूर्ण नेपालीको सम्पत्तिका रुपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
‘त्रिचालिसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का अवसरमा बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनीहरुले मुलकको राष्ट्रियता, सार्वभौमसत्ता र प्रजातन्त्रप्रति कुनै सम्झौता नगर्ने नेता बीपी युगपुरुष व्यक्तित्व भएकामा जोड दिए ।
कार्यक्रममा कांग्रेस महामन्त्री डा शशांक कोइरालाले दक्षिण एशियाको तत्कालीन संक्रमणकालीन राजनीतिक परिस्थितिमा मुलुकको सार्वभौमसत्ता रक्षा गर्न बीपी र नेता गणेशमान सिंह ज्यानको जोखिम मोलेर स्वदेश फर्किएको बताए ।
बीपी मेलमिलापको नीति लिएर स्वदेश फर्कंदाका घटनाको स्मरण गर्दै उनका सुपुत्रसमेत रहेका महामन्त्री डा कोइरालाले बीपीले जीवनको उत्तर्राद्धमा कांग्रेसका तत्कालीन शीर्ष नेतालाई एक भएर अघि बढेमा १० वर्षमा प्रजातन्त्र पुनःस्थापना गर्न सकिन्छ भनेर सुझाव दिएको जानकारी दिए ।
कार्यक्रममा नेकपा (माले) का महासचिव सीपी मैनालीले गतिशील व्यक्तित्व बीपीले आन्दोलन गर्दा कम्युनिष्टको साथ लिन नचाहे पनि कम्युनिष्टको विरोध पनि नगरेको स्मरण गरे ।
साथै, उनले बीपीले निर्वासनमा बस्दा भारतले भनेको मान्नुपर्ने देखेपछि राष्ट्रियता जोगाउन समर्पण नभई सहमतिका लागि स्वदेश फर्किएको धारणा व्यक्त गरे ।
कार्यक्रममा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी0 का संयोजक डा प्रकाशचन्द्र लोहनीले बीपी फरक विचार र दृष्टिकोण राख्ने सबैका नेता भएको उल्लेख गर्दै उनी कुनै एक पार्टीको नेतामात्र नभई सम्पूर्ण नेपालीको सम्पत्ति भएको उल्लेख गरे ।
बीपी आफ्ना प्रतिष्पर्धी र विरोधीलाई पनि सम्मान गर्ने नेता भएको स्मरण गर्दै डा लोहनीले स्वाभिमानी र दूरदर्शी सोच भएका नेता बीपी नेपाल र नेपाली रहेसम्म महानायकका रुपमा रहिरहने धारणा व्यक्त गरे ।
नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष विपीन कोइरालाले बीपीको मेलमिलाप नीतिलाई कांग्रेसले अपव्याख्या गरी गल्ती गरेको बताउँदै सच्चिएर बीपीको बाटोमा हिँड्नुपर्ने सुझाव दिए । बीपीको मेलमिलाप नीतिलाई सबैले आत्मसात् गर्न सकेमात्र मुलुकका समस्या समाधान हुने उनको धारणा थियो ।
प्रतिष्ठानका अध्यक्ष राजकृष्ण आमात्यको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण कोइरालाले बीपीको राजनीतिक दृष्टिकोण र प्रजातन्त्रका लागि गरेका संघर्षका बारेमा प्रस्तुतिसहित जानकारी गराएका थिए ।







प्रतिक्रिया