चितवन । राष्ट्रपतिको सुविधाका लागि सरकारले १८ करोड रुपैयाँ विलासी गाडीमा खर्च गर्न लागेकोमा चितवनमा युवाहरुले विरोध गरेका छन् । राष्ट्रपति विद्या भण्डारीलाई १८ करोडको महँगो गाडी खरिद गर्न भन्दै फेसबुक ग्रुप स्माइल नेपाल रिलोडेडका युवाहरुले नारायणी किनारमा भीख संकलन गरेका हुन् ।
गरिब देशकी राष्ट्रपतिलार्इ महँगो गाडी खरिद गर्न लागिएकाले युवाहरुले सरकारको निर्णयको व्यंग्यात्मक नारासहितका प्लेकार्डहरु पनि बोकेका थिए । गाडी किन्ने विषयलार्इ लिएर सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको बेला त्यसको विरोधमा सामाजिक सञ्जालमार्फत संगठित युवा युवतीहरु भेला भएर नारायणी नदी किनारमा भीख मागेका हुन् ।
भीख मागेको पैसाले राष्ट्रपतिको लागि प्लाष्टिकको गुडिया गाडी किन्ने र बाँकी रकमले क्यान्सरका रोगीहरुलार्इ आर्थिक सहयोग गर्ने स्माइल नेपाल रिलोडेडका संयोजक सन्तोष पन्तले बताए ।
युवाहरुले ‘चप्पल लगाएर संसद छिरेकी राष्ट्रपतिलार्इ १८ करोडको गाडी रु, आउनुहोस राष्ट्रपतिलार्इ एक दुई रुपैयाँ भीख दिनुहोस्’ लगायतका प्ले कार्ड बोकेका थिए । उनीहरुले आइतबार चौबिसकोठीमा पनि राष्ट्रपतिको लागि भीख संकलन गरेका थिए ।
आइतबार ६ सय ९० रुपैयाँ र मंगलबार ७ सय ५१ रुपैयाँ भीख संकलन गरिएको उनले बताए । देशमा नयाँ उद्योगधन्दाको विकास हुन नसकी दैनिक सयौं युवाहरु विदेशिनु परेको समस्यालाई समाधान नगरी सरकारले जनतालाई विकासमा सपनामात्रै देखाउने र राष्ट्रपतिलाई विलासी गाडी किन्ने काम गरेको भन्दै उनीहरुले पहिले जनतालाई सुखी र आर्थिक रुपमा सम्पन्न बनाएरमात्रै यस्ता महँगो सुविधा खोज्न सल्लाह दिएका छन् ।







प्रतिक्रिया