मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘असल नागरिक बनाउन स्काउटको भूमिका महत्वपूर्ण’

‘असल नागरिक बनाउन स्काउटको भूमिका महत्वपूर्ण’


चितवन । नेपाल स्काउटका पूर्व आयुक्त एवम् नेपाल स्काउट गाइड फिलोसिपका अध्यक्ष श्रीराम लामिछानेले विद्यार्थीहरुलाई अनुशासित, इमान्दार, कर्तव्यनिष्ट र असल नागरिक बनाउन स्काउटको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 
 
उनले चितवन स्काउटले बालबालिकासम्बन्धी रचनात्मक कार्यक्रमहरु गरेर महत्वपूर्ण भूमिका खेलेकोमा जिल्ला स्काउट र सम्बन्धित विद्यालयका स्काउटरहरुलाई धन्यवाद दिए । 
 
चितवन स्काउटको संयोजन एवम् मुनलाइट बोर्डिङ स्कुल कालिका ६ भटेनीको आयोजनामा जिल्लास्तरीय नृत्य प्रतियोगिताको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी एवम् चितवन स्काउटका सल्लाहकार सभा अध्यक्ष जीतेन्द्र बस्नेतले देशभक्ति, कर्मभक्ति, इमान्दार, नैतिकवान्  र कर्तव्यनिष्ट बनाउन स्काउटले महत्वपूर्ण भूमिका खेलेको बताए । 
 
प्रजिअ बस्नेतले नेपालमा हुनेखाने र खुँदाखाने वर्गबीचको दुई खालका शिक्षा विद्यमान रहिआएकाले स्थानीय सरकारले यसको दूरी घटाउन चासो राख्नुपर्ने उल्लेख गरे । संघीय सरकारले शिक्षालाई सूचनाप्रविधि, प्राविधिक र व्यावसायिक बनाउने नीति बनाएर शिक्षालाई जीवनोपयोगी बनाउनुपर्नेमा उनको जोड थियो । 
 
कार्यक्रममा नेपाल स्काउटका जिल्ला आयुक्त तीर्थराज न्यौपानेले विद्यार्थीभित्रको अन्तर्निहित प्रतिभा उजागर गर्न स्काउटका साथै अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताए ।
 
स्काउटले नैतिक शिक्षा र सामाजिक भावनाको विकास गराउनुका साथै जिम्मेवार नागरिक भएर कर्तव्यपथमा पुग्न सहज हुने विश्वास व्यक्त गरे । पछिल्लो समय हरेक विद्यालयमा स्काउट अनिवार्य र अपरिहार्य बन्न पुगेको स्मरण गर्दै स्काउटले विपद् व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए । 
 
मुनलाइटका संस्थापक प्रिन्सिपल एवम् निर्देशक चित्रबहादुर रायमाझीले मुनलाइटको २२ वर्षे यात्रामा थुप्रै आरोहअवरोह पार गर्दै रत्ननगरदेखि गर्दाससम्मका अभिभावकहरुको विश्वास जितेर स्तरीय पठ्नपाठन गराउन सकेकोमा सबैप्रति खुसी व्यक्त गरे । 
 
सोही समारोहमा उनले इच्छाकामना गाउँपालिकामा आफू अध्ययन गरेको विद्यालयका लागि १ लाख १ हजार १११ रुपैयाँको अक्षयकोष खोलेर उच्चशिक्षाबाट वञ्चित रहेका विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । 
 
जस्मिन धरेलले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा कालिका नगरपालिकाका कार्यवाहक मेयर विनोद रेग्मीले चितवन स्काउटले कालिका नगरपालिकाको विपद् व्यवस्थापनमा निकै सहयोग पुर्याएको स्मरण गर्दै स्काउटका लागि नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
नेपाल स्काउट चितवनको वार्षिक कार्यक्रमअनुसार मुनलाइट आवासीय मावि. स्काउट दलले नृत्य प्रतियोगिताको आयोजना गरेको हो । 
 
जिल्लाका ३४ विद्यालय सहभागी रहेको प्रतियोगितामा लिटिल फ्लावर स्कुल नारायणगढ प्रथम, एञ्जल्स वल्र्ड इङ्गलिस बोर्डिङ्ग स्कुलले द्वितीय, ग्रीनल्याण्ड पब्लिक स्कुल तृतीय तथा अर्बिट बोर्डिङ्ग स्कुलले सान्त्वना स्थान हासिल गरेको छ । 
 
विजयी हुनेले क्रमशः ७ हजार रुपैयाँ, ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्नेले नगद एक हजार रुपैयाँसहित शील्ड, प्रमाणपत्र प्राप्त गरेका थिए ।