यति एयरलाइन्समार्फत चितवन आइपुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिन चितवन बसाईमा विभिन्न कार्यक्रमहरुमा भ्याइनभ्याई भयो ।
उनी चितवन आएकै दिन रत्ननगरमा भएको एउटा प्रगतिशील विवाहमा समेत सहभागी भए । कम्युनिष्ट विचारधारा मान्नेहरुले यस प्रकारको विवाह गर्ने गरेका छन् । जुन विवाह साँस्कतिक परम्पराभन्दा फरक किसिमले हुन्छ ।
प्रगतिशील विवाह भड्किलोरहित विवाह भन्ने आमजनमानसमा बुझाइ रहँदै आएको छ । तर, पछिल्लो समय प्रगतिशील विवाहमा पनि लाखौं खर्चिएर भोज गर्न थालिएको छ ।
बुधबार प्रचण्डलगायत नेकपाका शीर्ष नेताहरु सहभागी एक वैवाहिक कार्यक्रम पनि सयौंको उपस्थितिमा प्रगतिशील नाम दिएर सम्पन्न गरियो । वैवाहिक कार्यक्रममा प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ, अमिक शेरचनलगायतका नेताहरुको सहभागिता रहेको थियो ।
प्रगतिशील भनिएको विवाहमा सयौंलाई निमन्त्रणा गरिएको थियो भने लाखौं रुपैयाँ खर्चिएर भोज गरिएको थियो । सांसद हरिराज अधिकारीकी छोरी र चितवनका पोल्ट्री व्यवसायी एवं उद्योग वाणिज्य संघ रत्ननगरका पूर्व अध्यक्ष ज्ञानबहादुर विसुरालका छोराको प्रगतिशील विवाहमा नेकपाका शीर्ष नेताहरु सहभागी भएका हुन् ।
बुधबार दुलहा र दुलही पक्षबाटै सबै निमन्त्रणा गरि भब्य भोज गरिएको थियो भने बिहीबार दुलहा पक्षका तर्फबाट निमन्त्रणा गरी अर्को भोज गरिएको थियो ।
‘सक्नेले भोज गर्ने हो’
प्रगतिशील विवाहको अध्यक्षता ग्रहण गरेका नेकपा चितवनका नेता इश्वरी भट्टराईले प्रगतिशील विवाह साँस्कृतिक परम्पराभन्दा फरक भएको तर भोज भतेर गर्ने कुरा आफ्नो दक्षताअनुसार गर्न सकिने बताए । उनले प्रगतिशील विवाहमा दाईजो र अन्य गरगहनाको भड्किलो कार्यक्रम नहुने तर भोज भतेर गर्दा केही फरक नपर्ने बताए ।
नेपाल सरकारले बिहे भोजमा ३ सय ५० भन्दा बढीलाई सहभागी गराउन नपाइने कानुन ल्याएको छ । तर, देशकै नेतृत्व गरिसकेका नेता सहभागी विवाह भोजमा भने दुई हजारभन्दा बढी सहभागी भएका थिए ।
के हो प्रगतिशील विवाह ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं।३ का अध्यक्ष नारायण दाहाल भन्छन् प्रगतिशील विवाह रुढीबादीभन्दा केही फरक हुन्छ । जनयुद्धकालमा चिया बिस्कुट नखाईकन पनि प्रगतिशिल विवाह हुने गर्दथ्यो । तर समयक्रमअनुसार फेरिँदै गएको छ । प्रगतिशील विवाहमा ब्राहमण र मण्डप हुँदैन । कार्यक्रम संचालक नै पण्डितको भूमिकामा रहन्छ ।
दुलहा, दुलहीले माला र अबिर लगाइ दिने र संयुक्तरुपमा मैनबत्ती बालेर हात मिलाएपछि विवाह सम्पन्न हुन्छ ।
यसबाहेक विवाहमा सहभागीले मन्तव्य दिने कार्यक्रमसमेत रहन्छ । प्रगतिशील विवाहले भोजभतेर नरोके पनि भड्किलो नगरौं भन्ने सन्देश दिनुपर्छ । तर, बुधबार सम्पन्न बिहे हेर्दा लाग्थ्यो, कम्युनिष्टहरुले गर्दा भड्किलो बिहे पनि प्रगतिशील नै हुन्छ ।







प्रतिक्रिया