मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ग्यास बुलेट पल्टिँदा आमाछोरीको मृत्यु

ग्यास बुलेट पल्टिँदा आमाछोरीको मृत्यु


धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ को विशालटारस्थित पृथ्वी राजमार्गमा ग्यास बुलेट पल्टिँदा दुई जना पैदलयात्रीको ज्यान गएको छ । 
 
भारतको रक्सौलबाट ग्यास लिएर काठमाडौँ आउँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको ग्यास बुलेट अनियन्त्रित भएर सडकछेउमा पल्टिँदा दुई पैदलयात्रीको ज्यान गएको हो ।
 
पैदलयात्रीलाई ठक्कर दिँदै पल्टिएको ग्यास बुलेटमा आगलागी भएपछि स्थानीयवासी त्रसित हुन पुगेका थिए । भारतको बरौलीदेखि काठमाडौँको बालाजु जाँदै गरेको एलपी ग्यासको बुलेट आफैँ अनियन्त्रित भएर सडकबाट २० मिटर तल पल्टिएको स्थानीयले जानकारी दिए । 
 
ग्यास बुलेटको ठक्करबाट पैदलयात्री बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य ३५ वर्षीया गीता नेपाली र उनकी छोरी सुनिता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गीताको घटनास्थलमै र सुनिताको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
चन्द्रोदय माविको कक्षा ११ को फर्म भर्न जाँदै गर्दा शाखा सडकमा हिँडिरहेका उनीहरुलाई ग्यास बुलेटले ठक्कर दिएको थियोे । ग्यास बुलेटका चालक भारतीय नागरिक २६ वर्षका भोलाकुमारलाई बेनिघाट प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
घटनास्थलमा स्थानीय, रेडक्रसकर्मी, सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन हुनुका साथै धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विकलगायत उपस्थित थिए । दुर्घटनाका कारण केहीबेर सडक अवरोध भएको थियो । गीताको शव गजुरी प्राथमिक स्वास्थ्यकेन्द्र र सुनिताको शव राजमार्ग सामुदायिक अस्पताल मलेखुमा रहेको धादिङका प्रहरी उपरीक्षक (एसपी) डम्बर विकले जानकारी दिए । 
 
ग्यास बुलेट पल्टिएको ठाउँमा आगलागी हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली तथा नीलकण्ठ नगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । 

शेयर गर्नुहोस:

0
Shares