दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् ।
तनहुँको भीमाददेखि चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ५८४७ नंको बस राजमार्ग छेउबाट खस्दा ३७ जना घाइते भएका हुन् । घाइतेमध्ये स्याङ्जाका १३ वर्षीय सनम थापाको अवस्था गम्भीर रहेको र अन्य यात्रुहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये चार जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा, १० जनाको दमौली अस्पतालमा, ६ जनाको व्यास सिटी अस्पतालमा र १७ जनाको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।
सोही बसमा यात्रा गरेका भीमादका सूर्यकुमारी रानाका अनुसार बसमा यात्रु खचाखच थिए । “दमौली आइपुग्नुभन्दा केही यता यात्रु चढाउन बस रोकिएको थियो, त्यो बेला चालक निदाउन खोजेको हो कि जस्तो देखिएको थियो,” उनले भने ।







प्रतिक्रिया