झापा । झापामा चार वर्षीया बालिका बलात्कृत भएकी छन् । झापा गाउँपालिकाको वडा नम्बर ५ का २२ वर्षीय युवकले शुक्रबार राति बालिका बलात्कार गरेका हुन् ।
शुक्रबार राति ९ बजे बालिकालाई करणी गर्ने आरोपमा कन्काई नगरपालिका(७ का राजकुमार हेमरनलाई प्रहरीले पक्राउ गरेको छ ।
हेमरनले बालिकालाई ललाई फकाई गरी खेतको आलीमा लगेर बलात्कार गर्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए । स्थानीयबाट खबर प्रहरीले पाउनेबित्तिकै प्रहरी परिचालन गरेर आरोपी पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।
‘प्रहरी चौकी शरणामतीबाट गएको टोलीले बालिकाको उद्धार गरी हेमरनलाई नियन्त्रणमा लिएको छ, स्थानीयले जानकारी दिनेबित्तिकै प्रहरी पुगेको थियो,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालले भने ।
हेमरनलाई इलाका प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकालाई उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको उक्त कार्यालयले जनाएको छ ।
साउनयता झापामा ४६ वटा बलात्कारका घटना भएका छन् । ढकालका अनुसार शुक्रबारको अर्को एउटा घटना थपिएपछि यो संख्या ४७ पुगेको छ । प्रहरी उपरीक्षक ढकालले झापामा मात्र साउनमा २९, भदौमा ११ र असोजको १९ गतेसम्म ७ वटा बलात्कार र जबरजस्ती करणी उद्योगका घटना भएको बताए ।







प्रतिक्रिया