चितवन । पूर्वी चितवनको पर्साबजारमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा एक महिला गम्भीर घाइते भएकी छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ९८६१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना २८ प ७७३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट खैरहनी नगरपालिका–१ बहेरीका ४० वर्षीय सोहना महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भरतपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी मृतक महतोकी श्रीमती जेनी महतो गम्भीर घाइते भएकी छन् । उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका थिए । पूर्वबाट इट्टा लिएर आउँदै गरेको ट्रकको अगाडिको भाग जलेर नष्ट भएको छ ।
भरतपुर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । ट्रकमा लगाइएको आगोले मोटरसाइकल पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
ट्रकका चालक पुष्पलाल वाइवालाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि दुई घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।
प्रहरीले ट्रकमा लगाएको आगो नियन्त्रणपश्चात् मृतकको शव भरतपुर अस्पतालको शवगृहमा पठाएको छ ।







प्रतिक्रिया