नेपाल

निर्मला हत्या प्रकरणमा छानबिन समितिद्वारा प्रतिवेदन पेश

निर्मला हत्या प्रकरणमा छानबिन समितिद्वारा प्रतिवेदन पेश


काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्याबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । 
 
कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका पन्तको हत्याबारे छानबिन गर्न बनेको हरिप्रसाद मैनालीको संयोजकत्वको टोलीले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो । 
 
अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएको र अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले भदौ ७ गते मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 
 
समितिले यसअघि भदौ ३० गते गृहमन्त्रीसमक्ष प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । प्रारम्भिक प्रतिवेदनमा प्रहरीको भूमिका कमजोर रहेको भेटिएपछि गृह मन्त्रालयले अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेको थियो । 
 
समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारेका छन् ।