मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अनाथ चेपाङ बालबालिकालाई चितवन युवा समूहको सहयोग

अनाथ चेपाङ बालबालिकालाई चितवन युवा समूहको सहयोग


चितवन । पूर्वी चितवनको राप्ती ३ झुरझुरेका अनाथ चेपाङ बालबालिकालाई बुधबार सहयोग हस्तान्तरण गरिएको छ । 
 
चितवन युवा समूह जापानको सहयोगमा चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गामबेँसीको चेपाङ संरक्षण केन्द्रको रोहवरमा एकाघरका चार अनाथ चेपाङ बालबालिकालाई दुई महिनाका लागि खाद्यान्न, स्टेशनरी, विद्यालय पोसाक, जुत्ता र झोला हस्तान्तरण गरेको छ । 
 
कार्यक्रममा चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष मुक्तिप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष बुद्धिराज अर्याल, सदस्य सन्तोष श्रेष्ठ, चितवन युवा समूह जापानका महासचिव हरिचन्द्र पौडेल, स्थानीय पत्रकार एवम् अधिकारकर्मी गोपाल विक, गामबेँसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मालगायतको उपस्थिति रहेको थियो ।
 
चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय परिषद् र गामबेँसीको चेपाङ संरक्षण केन्द्रको संयुक्त पहलमा एक वर्षसम्म सहयोगलाई निरन्तता दिँदै जाने र शैक्षिक गुणस्तर सन्तोषजनक नरहे केन्द्रमा संरक्षण दिएर पठनपाठन गराइने अभियन्ता शर्माले बताए । 
 
स्मरण रहोस्, गत असारमा खेत रोप्नेक्रममा शान्तिमाया चेपाङको हृदयाघातबाट मृत्यु भएको थियो । आमाको मृत्युपछि १० वर्षीया सुकमाया, आठ वर्षीय सुमन, छ वर्षीय सुजन र तीन वर्षीय मिलन चेपाङको बिचल्ली भएको थियो । आमाको मृत्युपछि सन्तानको बिचल्ली भएको समाचार प्रकाशित भएपछि विभिन्न संघसंस्थाको ध्यानाकर्षण भई सहयोग जुटेको थियो । 
 
बालबालिकाका बुवा जीतबहादुर चेपाङ सडक दुर्घटनापश्चात् अपाङ्ग छन् । कुनै आयआर्जन नभएका चेपाङ परिवारमा आमा सुकमायाले दैनिक ज्याला मजदुरी गर्दै परिवारको पालनपोषण गर्दै आएकी थिइन् । 

शेयर गर्नुहोस:

0
Shares