मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अधिकारी हत्या प्रकरणका जाहेरीवाला नूरप्रसाद परिवारको सम्पर्कमा

अधिकारी हत्या प्रकरणका जाहेरीवाला नूरप्रसाद परिवारको सम्पर्कमा


काठमाडौँ । चार वर्षदेखि सम्पर्कविहीन गंगामाया अधिकारीका जेठा छोरा नूरप्रसाद अधिकारी परिवारको सम्पर्कमा आएका छन् । 
 
कान्छा छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै गंगामाया लामो समयदेखि आमरण अनशनमा थिइन् । आमा अनशनमै रहेका बेला पनि सम्पर्कमा नआएका नूरप्रसादलाई चार वर्षपछि आइतबार प्रहरीले समातेर परिवारको सम्पर्कमा ल्याएको हो । गंगामायाकै आग्रहमा उनलाई पक्रेर ल्याएको प्रहरीले जनाएको छ । 
 
अपराध महाशाखाका एसएसपी धीरप्रताप सिंहका अनुसार नुरप्रसाद ४ वर्षदेखि परिवारको सम्पर्कमा नभएको र आमा गंगामायाको आग्रहमा खोजी गरिएको हो । पारिवारिक विवाद भएपछि उनी परिवारबाट टाढिएको बुझिएको एसएसपी सिंहले बताए । नूरप्रसादलाई परिवारको जिम्मा लगाउन लागिएको सिंहले बताए ।
 
सम्पर्कविहीन रहेका उनलाई कोठामा एक्लै बसिरहेका बेला नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसअघि असार २९ गते गंगामायाले अनशन तोड्ने क्रममा आफ्ना जेठा छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् । 
 
गोरखा फुजेल घर भई आफ्ना हजुरबा-आमा भेट्न चितवनको रत्ननगर गएका बेला कृष्णप्रसादको माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेका थिए । 
 
सो हत्या प्रकरणमा जाहेरवाला नूरप्रसादलाई चितवन अदालतले उपस्थित हुन आदेश दिएको छ । नूरप्रसादलाई भदौ ४ गते वकपत्र गर्न अदालतले आदेश दिएको हो । यसअघि फुजेलको गाउँकै पिपलको बोटमा म्याद तामेल भएको थियो । 
 
अदालतले नबुझी नहुने जाहेरवालाकै अनुपस्थितिमा फैसला गर्न लागिएको भन्दै जाहेरवाला पक्षका वकिलले आपत्ति जनाएपछि नूरप्रसादलाई म्याद तामेली गर्न न्यायाधीश कुलप्रसाद शर्माले आदेश गरेका हुन् । अधिकारी प्रकरणको चितवन अदालतमा बहस हुँदैछ ।