मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार कांग्रेसले ढाल्नु पर्दैन, समय आएपछि आफैँ ढल्छ : कांग्रेस

सरकार कांग्रेसले ढाल्नु पर्दैन, समय आएपछि आफैँ ढल्छ : कांग्रेस


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नकै लागि कांग्रेसले आन्दोलन नगरेको प्रष्ट पारेका छन् । 
 
काठमाडौं, ललितपुर र भक्तपुर कांग्रेसले डा गोविन्द केसीको अनशनमा ऐक्यवद्धता जनाउँदै मंगलबार नयाँ बानेश्वरमा आयोजित विरोध सभामा कांग्रेस नेताहरुले ओली सरकारलाई सचेत गराउनमात्रै आफूहरु आन्दोलनमा उत्रिएको जनाएका छन् । 
 
कांग्रेस नेताहरुले साउन १५ गतेसम्म सरकारले आफ्ना गलत कदम नसच्याए कांग्रेस झनै आक्रामकरुपबाट सडक र संसदमा प्रस्तुत हुने चेतावनी दिएका छन् । 
 
कांग्रेसका  भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले आफूहरुको विरोध सरकार ढाल्न र सत्ता र कुर्सी हल्लाउनका लागि नभएको स्पष्ट पारे । उनले भने, ‘हामीले डा गोविन्द केसीको माग पूरा गर भनेर सरकारलाई खबरदारी मात्र गरिरहेका हौँ ।’ 
 
डा केसीको आन्दोलनमा ऐक्यबद्धता, प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कांग्रेसप्रतिको हेपाहा प्रवृत्ति र सरकारका मन्त्रीहरुले नेपाली चेलीहरुमाथि लगाएको लान्छनाको विरोधमा कांग्रेस आन्दोलनमा उत्रिएको उनको भनाइ थियो । 
 
यसैगरी, काठमाडौँका कांग्रेस सभापति सुवजुकृष्ण बानियाले कांग्रेसले सरकार संस्कार र सुशासनमा बसोस् भनेर सचेत बनाउनका लागि आन्दोलन गरिएको बताए । 
 
उनले भने, ‘हामी सरकार ढाल्न होइन, सरकारलाई संस्कार र सुशासन सिकाउन र सचेत बनाउनका लागि आन्दोलन गरिरहेका छौँ ।’ 
 
उनले वर्तमान सरकारलाई ढाल्न कांग्रेसले केही गर्नै नपर्ने बताउँदै चुनावअघि गरेका आफ्नै वाचाहरु पूरा गर्न नसकेर सरकार ढल्ने दाबी गरे । उनले प्रधानमन्त्री ओली र सरकारका मन्त्रीहरुलाई बहकिएर नबोल्नसमेत सुझाव दिए । 
 
उनले थपे, भ्रामक र कपोकल्पित कुरा गरेर सत्ता त पाउनुभयो, सत्ता सञ्चालन गर्ने ढंग पुगेन् । ढंगका साथ काम गर्नुहोस् । उखान टुक्का, कथा र कविता वाचन गरेर हुँदैन, आफ्नो पदीय मर्यादाको पनि ख्याल गर्नुस् ।’
 
यसैगरी, ललितपुरका कांग्रेस सभापति मदन अमात्यले पूर्ववर्ती सरकारले ल्याएको विधेयक हुबहु कार्यान्वयन गरेर डा। केसीको माग पूरा गर्न माग गरे । उनले भने, ‘हामी सरकार ढाल्न सडकमा आएका होइनौँ । जनताका माग लिएर अनशन बसेका डा केसीमाथि सरकारले बर्बर अन्याय गर्यो । सरकार नागरिकप्रति उत्तरदायी भएन । उसलाई जिम्मेवारी बोध गराउन हामी आएका हौं,।’
 
उखान–टुक्का, रेल र पानीजहाजले देश नचल्ने भन्दै अमात्यले सरकारलाई जनताका आधारभूत आवश्यकताका विषयमा केन्द्रित रहेर विश्वास आर्जन गर्नसमेत सुझाए । मंगलबारको आन्दोलन सांकेतिकमात्रै भएकोले अझै एकसाताको समय बाँकी रहेकाले एक हप्ताभित्र सरकार नसच्चिए कांग्रेसले साउन १५ गते देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए । 
 
उनले प्रधानमन्त्री ओलीलाई शासक बन्ने सपना नदेख्न चेतावनीसमेत दिए । सोमबार ओली र प्रचण्डले कांग्रेसप्रति लक्षित गरेर दिएका अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै कांग्रेसका नेताहरुले बोलीको ठेगान नभएका प्रधानमन्त्री, नरसंहार गरेर आएका प्रचण्ड र नारी अस्मिताको ख्यालै नगरी बोल्ने सरकारका मन्त्रीबारे कटाक्ष गरे । जनताकासामु नांगीसकेकाले कांग्रेसलाई नैतिकताको पाठ नसिकाउन सुझाव दिए ।
 
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै २५ दिनअघिदेखि अनशनरत प्राडा। केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आएको कांग्रेसले काठमाडौँ, ललितपुर र भक्तपुर कांग्रेसको आह्वान्मा विरोध प्रदर्शन गरेको हो । 
 
सरकारले निषेध गरेको माइतीघर मण्डला हुँदै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो । सभामा हजारौँ कांग्रेस कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको सहभागिता थियो । 

शेयर गर्नुहोस:

0
Shares