बागलुङ । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा भएको टिपर दुर्घटनामा परी मृत्यु हुने २० मजदूरमध्ये १८ जनाको सनाखत भएको छ ।
मृृृृत्यु हुनेमा रोल्पाका १९ वर्षीय महेश रोका, २८ वर्षीय सुपमान रोका, २१ वर्षीया जीतमाया घर्ती, ३२ वर्षीय शोन्तु घर्ती, २० वर्षीया सिर्जना मगर, २३ वर्षीय राष्ट्रे रोका र ३२ वर्षीय राजकुमार पुन छन् । त्यसैगरी दाङका ३० वर्षीय बालकुमार घर्ती, ३१ वर्षीया कविता घर्ती मगर, ४३ वर्षीया शान्ति थापा, ३५ वर्षीय सुबेर चौधरी र २५ वर्षीय कमल बुढा छन् ।
यस्तै धादिङका २३ वर्षीय सुजन घलान, सिन्धुपाल्चोकका २० वर्षीय जीवन माझी, कैलालीका २२ वर्षीया बिन्ती घर्ती र २३ वर्षीया विनीता घर्ती, कपिलवस्तुका ३५ वर्षीय कमानसिंह रोका र स्याङ्जाका २४ वर्षीय कृष्ण क्षेत्री छन् । मृतकमध्ये एक जनाको नाम खुल्न सकेको छैन ।
बेनी–कोरला सडक खण्डमा काम गर्ने मजदूर चढेको बा २ क २२१९ नंको टिपर आज अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइते तीन जनालाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरी चौकीका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जानकारी दिए । घाइतेमध्ये पाँच जनालाई मुस्ताङको सदरमुकाम जोमसोममा उपचारका लागि ल्याइएको छ ।
अन्य घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताए ।
हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको शव पोखरा पठाइएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको हो । दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि १५ शव घटनास्थलमा नै छाड्नुपरेको थियो ।
दुर्घटनामा परी घाइते भएकामध्ये सात जनालाई शुक्रबार साँझ नै सेनाको एमआई सेभेन्टिन र एयर डाइनास्टिकको विमानबाट उपचारका लागि पोखरा लगिएको थियो । दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको भने जिल्ला अस्पताल मुस्ताङमा नै उपचार भइरहेको छ ।
दुर्घटनामा परी मृत्यु भएका र घाइते कोही पनि मुस्ताङका नभएका कारण जिल्ला सुरक्षा समिति मुस्ताङले सबै घाइते र शव पोखरा लाने निर्णय गरेको थियो । बेनी–जोमसोम– कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३ स्थित स्याङ्बोचेमा कालीगण्डकी करिडोर निर्माणमा काम गरिरहेका कामदार बोकेको बा२क २२१९ नंको टिपर शुक्रबार अपराह्न २ बजे दुर्घटना भएको थियो ।
प्रतिक्रिया