चितवन । नेपाल प्रेस युनियनका केन्द्रीय पार्सद एवम् निडर र निर्भिक युवा नेता रुपेशचन्द्र खनालको असामायिक निधन भएको छ । उच्च रक्तचापको समस्याका कारण चितवन मेडिकल कलेजमा उपचाररत खनालको ३२ वर्षको उमेरमा बुधवार साँझ निधन भएको हो ।
विगत एक सातादेखि रक्तचापको उपचार गराई रहेका खनालको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । २०४३ साल जेठ ३० गते जन्मिएका खनाल नेपाल प्रेस युनियनको केन्द्रीय पार्सद एवं नेपाल पत्रकार महासंघ चितवनका साधारण सदस्य थिए ।
पिता यज्ञप्रसाद अधिकारी एवम् माताद्वय सरला खनाल र लक्ष्मी खनालका कान्छा छोराको रुपमा जन्मिएका रुपेश नेपाली काँग्रेस चितवनका क्षेत्रीय प्रतिनिधि, नेपाल विद्यार्थी संघ चितवनका उपाध्यक्ष, मेलमिलाप सहजकर्तालगायतका सामाजिक काममा सहभागी थिए । तीन दाजु र एक दिदीको धनी खनालको उपचारका बुधबार साँझ ७ः ३० बजे मृत्यु भएको हो ।
खनालको निधनप्रति नेपाल प्रेस युनियन चितवनले दुःख व्यक्त गरेको छ । नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा खनालको निधनले प्रेस युनियन मर्माहत भएको जनाइएको छ । खनालको निधनप्रति दुःख व्यक्त गर्दै यस दुःखद घडीमा इष्टमित्र आफन्तजनहरु धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भनी भगवानसँग कामना गरिएको छ ।
खनालको निधनप्रति नेपाली काँग्रेस चितवनले दुःख व्यक्त गरेको छ । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिका खनालको निधनले काँग्रेसका कर्मठ योद्धा गुमाउनु परेकोमा दुःख व्यक्त गरिएको छ । यस्तै खनालको निधनप्रति नेपाल विद्यार्थी संघ चितवनले पनि दुःख व्यक्त गरेको छ ।
नेविसंघ चितवनका सभापति सूर्य ढकालद्वारा जारी विज्ञप्तिमा खनालको निधनले नेविसंघमा अतुलनीय क्षति पुगेको भनिएको छ । स्वर्गीय खनालको बिहीबार बिहान ९ बजे देवघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।
प्रतिक्रिया