‘मैले पनि कसरी राजनीति गर्नुपर्ने रहेछ भन्ने कुरा जान्दैछु । अब म पनि ‘हुँदैन’ र ‘छैन’ भन्नेवाला छैन,’ अघिल्लो साता शनिबार नेपाल समाज टेक्सस (एनएसटी) अध्यक्षका उम्मेदवार सुमन थापा भन्दैथिए । आफ्ना सहयोगी, टीमका सदस्य र केही सञ्चारकर्मीहरुको उपस्थितीबीच उनी स्थानीय फिस्टेल रेष्टुराँमा राजनीतिमा सफल हुने शुत्र आफुले पत्ता लगाएको र त्यो ‘हुन्छ’ र ‘छ’ भन्नुपर्ने रहेछ भनेर बताउँदै थिए ।
आफुले एउटैमात्र उपाध्यक्ष पद माग्दा संस्थापन पक्षले नदिएपछि प्यानलनै बनाएर चुनावमा जानुपर्ने बाध्यता आइलागेको उनको गुनासो थियो ।
दुई साता अघिसम्म नेपाली समाजको नेतृत्वका लागि चुनाव हुने नहुने निश्चित थिएन । सुरुवातका चार जना उम्मेदवार हुने चर्चा भएपनि पछिल्लो समयमा दुई जनाले मात्र अघि बढ्ने संकेत दिएका थिए । तत्कालिन महासचिव कमल सत्याल र पूर्ब महासचिव विजयराज भट्टराईले आफूहरु उम्मेदवार नहुने घोषणा गरेपछि अध्यक्षका लागि कमल सापकोटा र सुमन थापाको मात्र बढी चर्चा थियो ।
चुनाव हुन्छ कि हुँदैन भन्ने अन्यौलताले गर्दा चुनावको एक हप्ता अघिसम्म पनि सदस्यता लिने तर्फ कमैको चासो थियो। कार्यसमितिका सदस्य प्रेम पाठक हिमालय खबरसँग संबन्धित व्यक्ति भेट्नासाथ ५६ हजार डलर माग्थे । पाठकको भनाई थियो–‘हिमालय खबरले चुनाव हुने अवस्था छैन र निर्विरोध रुपमा पदाधिकारी चयन हुन्छ भनेर समाचार लेखिदिएकै कारण सदस्य बन्ने तर्फ धेरैको चासो भएन । त्यसले गर्दा सदस्यता शुल्कबाट संकलन हुने भनेर अनुमान गरिएको ५६ हजार हिमालय खबरले तिर्नुपर्छ ।’
हुनपनि अन्तिम मिति भन्दा अघिल्लो दिन अर्थात अघिल्लो शुक्रबार सम्म तीनसय जनाले मात्र सदस्यता लिएका थिए । चुनाव हुने निश्चित भएपनि शनिबार मात्र झण्डै १२ सय सदस्य थपिए । यस्तो अवस्था रह्यो कि अघिल्लो शनिबार साँझ ८ बजेदेखि राति १२ बजेसम्म प्रति मिनेट ५ जनाको दरले सदस्यता बढ्यो ।
हुनतः अमेरिकाका धेरै नेपाली संस्थाहरुमा चुनाव हुँदा सदस्यता ह्वात्तै बढ्ने चलन नयाँ होइन । चुनाव हुने अवस्था आयो भने जित्नका लागि उम्मेदवारहरु आफैले शुल्क तिरेर सदस्यता बनाउने चलन एनआरएनको अघिल्लो चुनावदेखिकै चलन हो । त्यो संस्कार अब बिस्तारै राज्यस्तर, शहरहरुमा खुलेका नेपाली संस्थाहरुमा पनि बढ्दै गएको छ ।
नेपाली समाज टेक्ससमा पनि झण्डै त्यस्तै भयो । अघिल्लो दिनसम्म चारसय कट्न नसकेको सदस्यता पछिल्लो दिन एकै पटक १२ सय बढ्नु भनेको त्यसैको परिणाम थियो ।
यो पक्ष र उ पक्ष होइन । अध्यक्षका उम्मेदवार भएका दुबैले अन्तिम समयमा आफ्ना मान्छे लगाएर सदस्यता व्यापक रुपमा बढाएकै हुन् ।
बिहीबार दिउँसोसम्म पनि अब शनिबार चुनावी कार्यक्रम हुनेमा सबै ढुक्क थिए । तर साँझ आयोजित वहश कार्यक्रमले एकाएक नयाँ मोड लियो । कार्यक्रममा प्रश्नावली ‘लिक’ भयो भनेर सुमन थापा पक्षबाट बहिष्कार भयो । मानौँ कि–वहश कार्यक्रम कुनै डिग्रीको परिक्षा हो र त्यसको प्रश्नावली पहिलेनै लिक गरेर पहिलो हुनेवाला व्यक्तिलाई कमजोर बनाउने प्रयास गरियो ।
बरु आयोजकले एउटा पक्षलाई फेभर गर्यो कि भन्ने कुरा तर्कसंगत मान्न सकिन्छ । त्यतिनै प्रश्नावली लिक भएको आरोपलाई तर्कसंगत मान्न सकिँदैन । लिकै गरिएको हो भने पनि त्यो आयोजकको नैतिकतासँग संबन्धित विषय हुनसक्ला, नकी अपराध । किनकी यो कुनै परिक्षा होइन । नेतृत्व लिन्छु भनेर अगाडी खडा भैसकेपछि ‘अनह्याण्ड’ र ‘अफह्याण्ड’ दुबैमा उम्मेदवारले बोल्ने ल्याकत राख्नुपर्छ। बिना तयारी पनि बोल्नसक्ने गुण नेतृत्वको दावी गर्नेसँग हुनैपर्छ ।
त्यही वहशमा सहभागी अध्यक्षका उम्मेदवार कमल सापकोटाले उम्मेदवारी परित्यागको घोषणा गरे । उनीसँगै महासचिवका उम्मेदवार कमल सत्यालले पनि उम्मेदवारी फिर्ता लिने उद्घोष गरे । सदस्यका उम्मेदवार विकास उप्रेतीले पनि उम्मेदवारी फिर्ता लिए । भोलीपल्ट सापकोटा टीमका अधिकांंशले फिर्ता लिए । एक हिसाबले सापकोटा पक्षका सहसचिवका उम्मेदवारले मात्र उम्मेदवारी फिर्ता लिएनन् । परिणाम शनिबार हुनुपर्ने चुनावमा यस पटक निर्बिरोध रुपमा नेतृत्व चयन भयो ।
नेतृृत्व निर्बिरोध चयन हुनु असाध्यै सकारात्मक हो । किनकी जुन प्रकारले चुनाव भएर नेतृत्व चयन हुँदा तुष, असहयोग हुन्थ्यो त्यो निर्बिरोध हुँदा हुँदैन ।
तर यस पटक निर्बिरोध भैकन पनि स्थिती सकारात्मक छैन । ‘साथीहरु स्वच्छ प्रतिस्पर्धा भन्दा पनि व्यक्तिगत कुरामा जान थाल्नुभयो । जसले गर्दा हामीले बाहिरै बस्ने निर्णय गरेका हौँ,’ महासचिवमा उम्मेदवारी दिएका कमल सत्यालले भने । सत्यालको यो भनाईले पनि उम्मेदवारी फिर्ता गर्ने निर्धारित समयभन्दा पछि फिर्ता लिनुलाई सहज रुपमा लिन मिल्दैन ।
एउटा टीमले फिर्ता लिएका कारण नेतृत्व चयन त सहज रुपमा भयो । तर आगामी दिनमा त्यही अनुसारको सहज अवस्था भने हुने संकेत देखिएको छैन । यही आइतबार नेपाली समाजले आयोजना गरेको मन्दिरलाई सहयोग हस्तान्तरण कार्यक्रममा पूर्ब पदाधिकारीको अनुहारले पनि त्यही संकेत गथ्र्यो ।
सुमन थापाको युवा जोश बोकेको टीमलाई जति अवसर छ त्यो भन्दा ज्यादा चुनौति छ । चुनावी दौरानमा थापाको टीमलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरैको हात, साथ र सहयोग रह्यो । नामै किटेरै भन्नुपर्दा पूर्ब महासचिव विजयराज भट्टराईदेखि लिएर तत्कालिन अवस्थामा डा. प्रेम अधिकारीसँग पराजित भएका पासाङ लामा समेतको भरथेगमात्र नभएर निकै ठूलो सहयोग थापा टीमलाई रह्यो । चुनावी अभियानमा जस्तैगरि त्यही प्रकारको सहयोग उहाँहरुबाट थापा टीमले पाइरहन्छ कि रहँदैन भन्ने अब अहम् सवाल पनि हो ।
‘विजयजी र पासाङजी दुबैले यसपटक सुमन थापालाई लिएर हिँडेनन् मात्र । दुबैले सुमनको काँधमा बन्दुक राखेर संस्थापन पक्षलाईनै प्रहार गर्नमा सफलता पाएकै हुन्,’ नाम प्रकाशित गर्न इन्कार गर्दै एनएसटीकै निवर्तमान एक कार्यसमिति सदस्यले भने । भट्टराई दुई वर्ष अघिको चुनावमा कृष्ण लामिछानेसँग पराजित भएका थिए भने लामा आठ वर्ष अघि डा. अधिकारीसँग पराजित भएका थिए ।
गत चुनावमा लामिछाने प्यानलबाटै विजयी सुमन थापालाई यसपटक भट्टराईले प्रयोग गरेर बदला लिएको टिप्पणी समेत ड्यालसमा भइरहेको छ । कतिसम्म भएको छ भने यसपटक बामपन्थीहरुको संस्था भनेर चिनिएको इन्द्रेणी सांस्कृतिक संघ र प्रवासी नेपाली मञ्चका धेरैले सदस्यता नवीकरणनै गरेनन् । नेपाली समाजकै उपाध्यक्ष भैसकेका प्रवासी मञ्चकी यमुना भट्टराई, जीवन जोशी र नेपाली समाजका पूर्व उपाध्यक्ष तारा भुसालले समेत सदस्यता नवीकरण गर्नुभएन । प्रवासी मञ्च निकट धेरैले सदस्यता नलिएको अवस्थाबीच पनि भट्टराई र लामाले चलखेल गर्दै सुमनलाई थुतेर अध्यक्ष बनाउन सफल भएको चर्चा पनि छ ।
थापा र उनको टीमले निर्विरोध रुपमा नेतृत्व गर्ने अवसर त पाएको छ । तर ड्यालसको नेपाली समुदायमा यो टीममा त्यति भिजेको व्यक्तिहरु छैनन् । हिजोका दिनमा एनएसटीले मर्दा र पर्दा समुदायका सदस्यबीच पुगेर आर्जन गरेको प्रतिष्ठालाई यो टीमले निरन्तरता दिनु निकै चुनौतिपूर्ण कार्य हुनेछ ।
एनएसटीको पहिचानको रुपमा रहेको स्कुलको सुव्यबस्थित सञ्चालन, समुदायलाई आकर्षित गर्ने कार्यक्रमहरु सञ्चालन गर्दै संस्थालाई जीवन्त बनाउनु र समय दिनु पनि यो टीमका लागि चुनौतिपूर्ण त्यतिकै छ । बाहिर टिप्पणी सुरु भैसकेको छ–‘नयाँ टीममा अधिकांश नयाँ अनुहार र विद्याथीहरु आएका छन् । उनीहरुले भरखरै सुरु गरेको व्यबसाय, कलेज, विश्वविद्यालय, जागिरबाट समय छुट्टाएर कति समय समुदायका लागि दिन सक्छन् हामी पनि हेर्छौ नि ।’
अध्यक्षको प्रतिस्पर्धाका क्रममा थापाले ‘हुँदैन’ र ‘छैन’ शव्द प्रयोग गर्नेछैन भनेका थिए । मजाककै सिलसिलामा यो टिप्पणीकार लगायतका उपस्थित व्यक्तिहरुबीच भनेका थिए–‘टेलिफोन कल उठाउँदा पनि ‘हेलो’ होइन ‘हुन्छ’ भन्नुपर्ने भयो ।’ थापा अब अध्यक्ष भैसकेका छन् । उनले शायद फोन उठाउँदा ‘हेलो’ को साटो ‘हुन्छ’ भन्ने छैनन् ।
चुनावी अभियानको यही शुत्र प्रयोग गरे भने नयाँ नेतृत्व सफल हुने अवस्था रहँदैन । संस्थाको नेतृत्व गरिसकेपछि सक्ने र हुने कामलाई ‘हुन्छ’ भन्नुपर्छ र नहुने अनि नसक्ने कामलाई सरीका साथ ‘हुँदैन’ भन्न सक्नुपर्छ । यो ल्याकत राख्न सक्छन् कि सक्दैनन् थापा र उनको टीमले ? अहिलेको अहम् सवाल यही हो ।
यो टीमले सार्वजनिक गरेको एकलाख डलरको आपत्कालिन कोषको कुरालाई चुनावी गफ त हो भनेर हल्का रुपमा लिने हो भने त्यसले अर्को दुर्घटना निम्त्याउनेछ ।
थपमा अमेरिकाभरि नेपाली समुदायका बीच एनएसटीले आर्जन गरेको प्रतिष्ठालाई थप उचाईमा पुर्याउन यो टीमले कस्तो योजना बनाउँछ ? अवसर र चुनौति दुबै यो टीमका लागि छ । यतिखेर ड्यालसको नेपाली समुदायले प्रतिक्षा गरिरहेको विषय पनि हो ।
प्रतिक्रिया