हिमालय खबर संवाददाता–
नारायणगढ– निर्माणाधीन मुग्लिन–नारायणगढ सडकको सबै खण्डमा कालोपत्रेको काम सुरू भएको छ । निकै सुस्त गतिमा निर्माण कार्य भइरहेको सो सडकमा कालोपत्रेको काम सुरू भएपछि चाँडो काम सकिने केही आशा भने पलाएको छ । कुल ३६ किलो मिटर मुग्लिन–नारायणगढ सडकको ३३ किलोमिटरमा विस्तारको काम भइरहेको छ ।
सो सडकलाई तीन खण्डमा विभाजित गरेर प्रत्येक खण्ड फरक–फरक निर्माण कम्पनीलाई निर्माणको लागि ठेक्का दिइएको छ । पहिलो खण्ड आँपटारीदेखि दासढुंगासम्म छ भने दोस्रो खण्ड दासढुंगादेखि सिमलतालसम्म छ । सिमलतालदेखि मुग्लिनसम्म तेस्रो खण्ड छ । तीन तहमा कालोपत्रे हुनुपर्छ । पहिलो तहको कालोपत्रे सबैले सुरू गरेका छन् । पहिलो खण्डमा दोस्रो तहको पनि सुरू भएको छ ।
‘एक नम्बर खण्डमा दोस्रो तहको कालोपत्रे पनि सुरू भयो । दुई र तीनमा पनि थोरै धेरै कालोपत्रेको काम सुरू भएको छ’ मुग्लिन–नारायणगढ सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले भने । उनको अनुसार सबैभन्दा धेरै कालोपत्रेको काम पहिलो खण्डमा भएको छ । तेस्रो खण्डमा भर्खर सुरूवातमात्रै भएको छ ।
खनालका अनुसार पहिलो नम्बर खण्डमा केही ठाउँमा देस्रो तहको कालोपत्रेसहित कुल साढे चार किलोमिटर सडकमा कालोपत्रेको काम सुरू भएको हो । सो खण्डमा साढे ११ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । दोस्रो खण्डमा साढे १० किलो मिटर सडक निर्माण गर्नुपर्छ । त्यहाँ पहिलो तहको कालोपत्रे गर्ने काम लगभग तीन किलोमिटर पूरा भएको छ ।
तेस्रो तथा अन्तिम खण्डमा सवा १२ किलोमिटर सडक निर्माण गर्नुपर्छ । त्यहाँ जम्मा एक किलोमिटरमात्रै सडक कालोपत्रे भएको छ ।
राजधानीलाई देशको पूर्व र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्गका रुपमा रहेको नारायणगढ–मुग्लिन सडक खण्डलाई एसियाली मापदण्डअनुरुप दुई लेनको सडक बनाउन काम सुरू भएको हो ।
एसियाली मापदण्डअनुरुप बनाउन फराकिलो हुनुका साथै कालोपत्रे पनि गुणस्तर युक्त हुनुपर्छ । त्यसैले सो सडक खण्डमा १६ सेन्टिमिटर मोटो कालोपत्रे हुन्छ । इन्जिनियर खनालका अनुसार पहिलो तहको कालोपत्रे छ सेन्टिमिटरको हुन्छ । त्यसपछि फेरि छ सेन्टिमिटरकै दोस्रो तह बस्छ । अन्तिममा चार सेन्टिमिटरको कालोपत्रे बस्छ । यसरी कुल १६ सेन्टिमिटरको कालोपत्रे हुने उनले बताए ।
‘बढी भार भएका गाडीहरु चाप थेग्न कालोपत्रेको तह बाक्लो हुनुपर्छ’ इन्जिनियर खनालले भने । सामान्यतया नेपालका सडकहरुमा चार सेन्टिमिटरको मात्रै कालोपत्रे हुने गर्छ । सडक निर्माणको अरु काम पनि बाँकी नै रहेको र कालोपत्रे भर्खर सुरू भएका कारण नारायणगढ–मुग्लिन सडक खण्ड कहिले बनेर सकिने हो भन्ने चासो सबै क्षेत्रमा छ ।
सो सडक गत वर्ष अर्थात् सन् २०१७ कै अप्रिल महिनाभरि निर्माण भएर सकिनुपर्ने सुरूवातको सम्झौता थियो । तर, काममा निकै ढिलाइ भएको छ । सडक निर्माण हुने अवधि थप गर्दै आउँदो वर्ष अर्थात् सन् २०१८ को फेब्रुअरी २० अर्थात् फागुनसम्म निर्माण सकिने भनिएको छ । तर, काम जम्मा ५७ प्रतिशतमात्रै पूरा भएको छ ।
‘अब कटिङ र पर्खाल लगाउने काम लगभग सकिएका कारण धामधम कालोपत्रे हुन्छ । त्यसैले चाँडो नै काम सकिनेमा विश्वस्त बनौँ’ इन्जिनियर खनालले भने । कालोपत्रे सुरू भए पनि काम अझै द्रुत गतिमा हुन सकेको छैन । दसैँतिहारका बेलामा घर गएका कामदारहरु छठ नसकी फर्कने अवस्था देखिएको छैन । त्यसपछि मंसिरमा चुनाव नै परेको छ ।
‘अब बाटो बन्द गरेर काम गर्न थालेपछि चाँडो–चाँडो हुन्छ’ खनालले भने । छठपछि बैठक बसेर बाटो बन्द गर्ने विषयमा निर्णय हुने उनले जानकारी दिए ।
प्रतिक्रिया