मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्तिहरुको गठबन्धन

काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्तिहरुको गठबन्धन


प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ ।
 
मुलुकको समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज आह्वान गरेको राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा ९प्रजातान्त्रिक० र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित बैठकले सो निर्णय गरेको हो ।
 
मुलुकका ठूला दुई वामपन्थी दलले चुनावी गठबन्धन र पार्टी एकताका लागि पहल गरेको भोलिपल्ट लोकतन्त्र र परिवर्तन पक्षधर दलहरुको बैठकले उक्त कार्यदलमा काँग्रेसका तर्फबाट दुई जना र अन्य दलबाट एक–एक जना सदस्य रहने निर्णय गरिएको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।
 
मुलुकको सामुन्ने विद्यमान परिस्थितिमा लोकतान्त्रिक शक्ति एकताबद्ध भएर जानु आवश्यक देखिएकाले त्यस सम्बन्धमा गृहकार्य गर्न कार्यदल गठन गरिएको छ, नेता निधिले भने, ‘कार्यदलका सदस्यको नाम भने बिहीबार बिहान सबै दलले दिने र त्यसपछि आवश्यक गृहकार्य एवं तयारी थालिने छ ।’
 
कार्यदलले आजैदेखि नै पार्टीका शीर्ष नेताहरुको निर्देशनमा आवश्यक गृहकार्य र तयारी थाल्ने नेता निधिले बताए । बैठकमा मंगलबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टीबीच निर्वाचनको मुखमा भएको चुनावी गठबन्धन र पार्टी एकताको पहलका सबन्धमा गम्भीर र विस्तृत छलफल भएको थियो ।
 
बैठकमा वामपन्थी दलबीच भएको अस्वभाविक र रहस्मय गठबन्धनले निर्वाचन समयमा हुँदैन कि भन्ने आशंका सिर्जना गरेको बारेमा छलफल भएको बताउँदै नेता निधिले भने, ‘बैठकमा सहभागी शीर्ष नेताले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सामूहिक रुपमा एकताका साथ अगाडि बढ्ने दृढता व्यक्त गरेका छन ।’
 
बैठकमा सहभागी छ दलसँग ३०२ जना सांसद रहेको स्पष्ट पार्दै नेता निधिले सरकारसँग पर्याप्त बहुमत रहेको र यही सरकारले निर्वाचन सम्पन्न गराउने बताए । यसअघि बसेको नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको थियो ।
 
बैठकमा प्रधानमन्त्री देउवा, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राजपा नेपालका अध्यक्ष महन्त ठाकुर, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जवरालगायत नेताहरुको उपस्थिति रहेको थियो ।