मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राप्ती नगरपालिकामा जाग्यो कांग्रेस

राप्ती नगरपालिकामा जाग्यो कांग्रेस


भण्डारा, चितवन । आसन्न स्थानीय निर्वाचनको सरगर्मी बढ्दै गर्दा राप्ती नगरपालिकामा कांग्रेसको पक्षमा जनलहर बढेको छ । 
 
नेपाली कांग्रेसले राप्ती नगरपालिकाको भण्डारामा प्रचारप्रसार कार्यालय उद्घाटनका क्रममा कांग्रेस उम्मेदवार तथा कार्यकर्ताहरुले कांग्रेस जनतामाझ पुग्न नसकेकै कारण जनमत गुमाउनुपरेको सत्य प्रकट गरे । 
 
नेपाली कांग्रेसका राप्ती नगर सभापति नारायण उप्रेतीले जनतालाई सत्य कुराको बोध गराउन नसक्दा ०५६ को निर्वाचनबाहेक अन्य चुनावमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको भन्दै कांग्रेसले ठूला सपना बाँडेर होइन, सम्भव हुने कुरामात्रै गरेर जनताको समस्याको हल गर्नुपर्नेमा जोड दिए । 
 
राप्ती नगरपालिका प्रचारप्रसार संयोजक भीमप्रसाद थपलियाको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले एक समारोहबीच कार्यालय उद्घाटन गर्दै राप्ती नगरपालिकाका जनताले कांग्रेसको नेतृत्व अपेक्षा गरिरहेकाले उम्मेवारहरुलाई सोही बमोजिम मतदाताको घरदैलोमा पुग्न आग्रह गरे । 
 
कांग्रेसले विभिन्न प्रजातान्त्रिक आन्दोलनमा निर्णायक भूमिका खेलेको स्मरण गर्दै उनले आन्दोलनमा कांग्रेसले निर्वाह गरेको भूमिका, विभिन्न राजनीतिक परिवर्तनमा गरेको अगुवाइ र जनअपेक्षा पूरा गर्दै आएको पार्टी भएकाले कांग्रेसका पक्षमा जनलहर ल्याउन कार्यकर्तालाई आग्रह गरे । 
 
कार्यक्रममा मेयरका उम्मेदवार किरणभूषण ओलीले आसन्न चुनावमा “रुख हेरौँ मुख नहेरौँ” भन्दै नगरवासीमा सम्भव हुने आश्वासनमात्रै दिने र अन्य दलले जस्तो झुटको खेती नगर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उपमेयरकी उम्मेदवार अनिता मैनालीले "पहिले कांग्रेसको ठूलो घर बनाऔँ, सानो घर आफैँ बन्छ" भन्ने अठोटका साथ कांग्रेसका पक्षमा जनलहर सिर्जना गर्न आह्वान गरिन् । 
 
प्रचारप्रसार उपसंयोजक पदमराज पाठकले स्वागत गरेको कार्यक्रममा नेपाली कांग्रेसका राप्ती नगर सचिव महेश्वर थपलियाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा समाजसेवी एवम् गैरआवासीय नेपाली संघका राजेन्द्र सेढाईं, जिल्ला पूर्व उपसभापति बलराम धरेल, कांग्रेस जिल्ला सदस्य रामबहादुर लामिछानेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा राप्ती नगरपालिकाका १३ वटै वडाका वडाअध्यक्ष तथा नसस उम्मेदवारहरुको सहभागिता रहेको थियो । 
 
यसैबीच, तरुण दल क्षेत्र नं १ का सभापति प्रज्ज्वल दवाडीले कांग्रेसको घरदैलो अभियानका क्रममा मतदातामा देखिएको उत्साहले कांग्रेसको लोकप्रियता बढ्दै गएको र राप्ती नगरभरि कांग्रेसको जनलहर बढेको बताए । कांग्रेसलाई नगरवासीको साझा पार्टी बनाउन मतदाताले सुझाव दिएको र घरदैलोमा मतदाताका जनअपेक्षा पूरा गरेर देखाउने प्रतिबद्धता कांग्रेसका उम्मेदवारहरुले व्यक्त गरेको उनले जानकारी दिए । 
 
यस्तै नेविसंघका क्षेत्रीय अध्यक्ष सुदीप ओलीले राज्यकोषको सही सदुपयोग गर्न र जनताको आँशु पुछेर खुसीको सञ्चार ल्याउन मतदाताले कांग्रेसलाई जिताउन आतुर रहेको दाबी गरे । कांग्रेसले समाजसेवी र विकासप्रेमी छवि बोकेका उम्मेदवारलाई नगरमा उठाएकाले कांग्रेसमय वातावरण निर्माण भइरहेको उल्लेख गरे । 

शेयर गर्नुहोस:

0
Shares