चितवन । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नभए देशमा उथलपुथल हुने बताएका छन् ।
पत्रकारसँग बिहीबार यहाँ कुराकानी गर्दै उहाँले निर्वाचन समयमा हुन नदिन षड्यन्त्र भइरहेको विचार व्यक्त गरे । अहिलेको सरकारले निर्वाचन स्थगित गर्न कोसिस गरिरहेको आरोप लगाउँदै उनले निर्वाचन गर्ने आँट सरकारले गर्नुपर्छ भने ।
नेकपा (एमाले)ले स्थानीय निर्वाचनका लागि उम्मेदवार चयनको काम सुरु गरिसकेको छ भन्दै महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्र र अन्य निकायको प्रदेशले उम्मेदवारी चयन गर्ने र चाँडै नै सबै उम्मेदवारी तय हुने उनले जानकारी दिए ।
तराईमा फेरि एमालेले कार्यक्रम गर्ने भन्दै उनले यसअघि मधेसी मोर्चाको गैर जिम्मेवारीपूर्ण क्रियाकलापका कारण सप्तरी घटना भएको बताए ।
मधेसमा–मधेसी मोर्चाले जनता भड्काउने काम गरेको भन्दै उनले सबैलाई थाहा हुनेगरी कोही कसैबाट मधेसी मोर्चा परिचालित भएको खनालको आरोप थियो । उनले भने, ‘सप्तरी र महाकालीमा घटना हुँदा पनि मधेसी मोर्चा बोलेनन् ।’
मधेसलाई संविधानले सम्बोधन गरेको भन्दै उनले हरेक मधेसी जनताका लागि संविधानमा अधिकारको व्यवस्था भएको बताए । रासस







प्रतिक्रिया