मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चेपाङलाई भूकम्पको भन्दा गरिबीकै चिन्ता ठूलो

चेपाङलाई भूकम्पको भन्दा गरिबीकै चिन्ता ठूलो


भूकम्प जाँदा देशभन्दा बाहिर रहेका युवाहरु अहिले भूकम्पले गरेको असर नियाल्न गाउँगाउँ पुगेका छन् ।
 
भूकम्प प्रत्यक्ष नभोगेका उनीहरु गाउँको दयनीय अवस्था देख्दा झनै दुःखी छन् । भूकम्पबाट भएको क्षतिको सर्वेक्षण गर्न चितवनको काउलेमा खटिएका युवा इन्जिनियरहरुलाई भेट्दा उनीहरुले पढाइ पछिको पहिलो कामको यो अनुभव जिन्दगीकै लागि ठूलो पाठ भएको बताए ।
 
वैशाख १२ मा विनाशकारी भूकम्प जाँदा राजकुमार निरौला भारतमा थिए । उनले भूकम्पको दृश्य टिभीमा देखे । कैलालीका निरौलालाई भूकम्पको प्रत्यक्ष प्रभाव खासै परेन । तर, अहिले उनी भूकम्पले पारेको प्रभावका विषयमा निकै नजिक भएर काम गर्दैछन् । भारतबाट इन्जिनियरिङमा स्नातक र बेलायतबाट स्नातकोत्तर गरेका निरौला अचेल चितवनको चेपाङ गाउँमा छन् ।
 
भूकम्पले भत्काएको घरको सर्वेक्षण गर्न तथ्याङ्क विभागको खटनमा उनी गाउँ पुगेका हुन् । चितवनको चेपाङ बहुल पहाडी गाविस काउलेको वडा नं १ र ३ का २६१ घरको उनले सर्वेक्षण गर्नुपर्ने हुन्छ । भूकम्पले भत्केको घरको फोटो खिच्ने, घरमा बस्नेले पाएको सेवा सुविधाको विवरण लिने र तथ्याङ्क विभागमा उसै दिन इन्टरनेटमार्फत पठाउने उनको जिम्मेवारी हो ।
 
यसैका आधारमा सरकारले घरको क्षतिको अवस्था मूल्याङ्कन गरेर पूनर्निर्माणका लागि रकम उपलब्ध गराउँछ । उनले गर्ने काम नितान्त प्राविधिक विषय हो । तर, गाउँ डुल्दा बेला बेलामा उनी भावुक पनि बन्छन् । ‘काउले गाविसका लागि पाँचजना इन्जिनियर खटेका छौं । सबैको कुरा सुन्दा के लाग्छ भने यो ठाउँ राम्रो छ तर गाउँका मान्छेको दुःख त बयानै गर्न नसकिने खालको छ’ निरौलाले भने ।
 
चेपाङ गाउँमा भूकम्पभन्दा ठूलो आपत देखेको उनले बताए । ‘यस्तो चिसोमा कुनै छेकबार बिनाको घरमा उनीहरुले गुजारा गरेका छन् । भूकम्पले घर भत्काएर हैन कि उनीहरुले त घरमा बारै नहाल्दा रहेछन्’ निरौलाले भने । भूकम्पले भत्काएको घर बनाउन नसकेर बसेकाहरुलाई सरकारले सहयोग दिने नीति लिएको छ । तर, कहिल्यै राम्रो घर नभएकाहरुको के हुने हो भन्ने चिन्ता उनलाई छ ।
 
‘काखको बच्चा बितेको भोलि पल्टै बा आमा काम गर्दै गरेको अवस्थामा भेटिन्छन् । सुत्केरीहरु हप्ता दिन नहुँदै काममा भेटिन्छन । यस्तो संसार कल्पनाभन्दा बाहिरको थियो । अरुका लागि भूकम्प दुःख बनेर आयो तर उनीहरु महाभूकम्पभन्दा पनि ठूलो पीडामा रहेछन्’ निरौलाले भने । तर, पीडा ठूलो भए पनि सरकारले सुविधा दिने नियमभित्र उनीहरु पर्दैनन् ।
 
भूकम्पबाट बढी प्रभावित १६ औ जिल्लापछि १७ औं मा चितवन पर्दछ । चितवनमा घरधुरी सर्वेक्षण र सहयोग वितरणको काम दोस्रो चरणमा परेको थियो । अहिले सर्वेक्षणको काम अन्तिम अन्तिममा पुगेको छ । भारतबाटै बी टेक गरेका र अहिले सर्वेक्षणका लागि काउलेमै खटेका इन्जिनियर डेबिट पौडेल भन्छन् ‘पढाइ सकेर पहिलो काम यही गरियो । पढाइका बेलामा नपाएको समाज र देश बुझ्ने धेरै ज्ञान अहिले पो पाइयो ।’

शेयर गर्नुहोस:

0
Shares