०६२ सालमा चितवनमा राजधानीबाट हटाइएका थोत्रा टेम्पुहरु ओइरिए । राजधानीमा प्रदूषण भएर हटाइएका टेम्पु कालो धुवाँ फाल्दै आजसम्म पनि चितवनका सडकहरुमा निर्धक्कसँग गुडिरहेका छन् ।
सरकारले फागुन १८ गतेदेखि राजधानीबाट २० वर्ष पुरानो गाडी हटाउने भएको छ । पुनः ती थोत्रा गाडी चितवनमा भित्रिने संभावना बढेर गएको छ । थोत्रा गाडी भित्रने सहर अर्थात डम्पिङ साइट चितवनलाई बनाउन नदिनका लागि सरोकारवाला सबै पक्ष एक हुनुपर्ने अवस्था आएको छ ।
चितवनको हकमा पनि पुराना सवारी बढी जसो विद्यार्थी र सर्वसाधारण यात्रु बोक्ने काममा संलग्न छन् । बोडिङले अझै पनि पुराना गाडी विद्यार्थी बोक्न प्रयोग गर्छन् । त्यस्तै सदरमुकामबाट गाउँतर्फ चल्ने बसहरु पनि केही पुरानो भइसकेका छन् । चल्दै जाँदा गाडी कहाँनेर बिग्रन्छ थाहा हुन्न ।
पुराना गाडीहरुको इन्जिन र पार्टपुर्जा काम नलाग्ने हुने भएकाले यात्रु बोक्नु निकै जोखिपूर्ण मानिन्छ । तर, त्यस्ता पुराना गाडीहरु शान्ति क्षेत्र घोषित विद्यालयमा समेत प्रयोग हुने गरेका छन् ।
‘राजधानीबाट हटाइएका गाडी देशभर नै चलाइनु हुन्न’, नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष मित्र केसीले भने,‘चितवनलाई डम्पिङ क्षेत्र बनाउन दिनु हुन्न ।’ नयाँ गाडी लिनेलाई पुरानै नम्बर उपलब्ध गराउनुपर्ने भन्दै यातायात व्यवसायी केसीले चितवनमा भित्रनबाट थोत्रा गाडीलाई रोक्नुपर्ने बताए ।
म्याजिक, नगर बस र ई–रिक्साको आगमनसँगै थोत्रा टेम्पुहरु सहरबाट केही हटिसकेका छन् । केही गुडिरहेका छन् । सरकारले तोकेको दुई वर्षको समयसीमा नाघ्नै लाग्दा पनि व्यावसायीले पुराना सवारी सडकबाट हटाउन अटेर गरिरहेका छन् । तर, अब गाडीलाई कुनै कानुनी मान्यता नै नदिएर विस्थापनका लागि बाध्य पार्न लागिएको हो ।
‘यहाँ चल्ने पुराना गाडी हटाउने बारे हामीलाई केही जानकारी आएको छैन’, चितवन ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले भने,‘ यहाँ पनि थोत्रा गाडी छन् प्रक्रिया पु¥याएर मात्र हटाउने काम हुन्छ ।’
चितवनमा पनि २० वर्ष पुरानो गाडी रहेका छन् । तर, सरकारले पहिलो चरणमा काठमाडौंबाट २० वर्ष पुराना सवारी हटाएर अर्को चरणमा उपत्यका बाहिर त्यसको कार्यान्वयन सुरू गर्ने तयारी छ ।
समाजसेवी श्रीकृष्ण तिमिल्सिनाले राजधानीबाट हटाइने थोत्रा गाडीलाई चितवन मात्र नभई देशभरी नै सञ्चालन गर्न दिनु नहुने बताए । पुराना गाडीले प्रदूषण बढाउनुका साथै तेलको खपत पनि उच्च हुन्छ । यसले मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर गर्छ ।
अब २० वर्ष कटिसकेका सार्वजनिक सवारीलाई कवाडीमा बिक्री गर्नुपर्नेछ । र, अटेर गरेर गुडे ठूलो जरिवानासहित कारबाहीको भागिदार हुनुपर्नेछ । पुराना सवारीको नामसारी पनि रोकिने र बिक्री वितरणमा पनि प्रतिबन्ध लगाइएको छ ।







प्रतिक्रिया