चितवन । चितवनमा पछिल्लो समय सडक दुर्घटना बढेको छ । दुर्घटनासँगै मानवीय क्षति पनि बढेकोले पछिल्लो तीन महिनामा चितवनमा सडक दुर्घटनाकै कारण ३४ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले रत्ननगरमा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा तीन महिनाको प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले मंसिर, पुस र माघ महिनामा साना ठूला गरी १०० वटा दुर्घटना भएको र सो दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको जानकारी दिए ।
१०० दुर्घटनामा १५८ जना घाइते भएका छन् । १५८ जनामध्ये केहीको अङ्गभङ्ग भएका छन् । प्रहरीले लापरबाही गरी सवारी चलाउने तीन जना चालकलाई कारबाही स्वरुप पूर्पक्षका लागि थुनामा पठाएको छ । चितवनमा प्रत्येक दिन ३ देखि ४ वटा साना ठूला दुर्घटना हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसको मुख्य कारण सडकको दुरा अवस्था र चालकको लापरबाही रहेको प्रहरी उपरीक्षक थापाले बताए । सबै भन्दा बढी दुर्घटना नारायणगढ–मुग्लिन सडक खण्डमा हुने गरेको छ ।
तीन महिनाको बीचमा सो सडक खण्डमा ३÷४ वटा यात्रुबाहक बस र ट्रक नदीमा खसेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सडक दुर्घटना न्यूनीकरणको लागि सडक सुरक्षा योजना बनाएर काम गरिरहेको छ ।
दुर्घटनाको अनुपातलाई हेर्दा प्रहरीले सुरू गरेको सडक सुरक्षा योजना असफल भएको सावित भएको छ । प्रहरीको सडक सुरक्षा कार्यक्रम दुर्घटना न्यूनीकरणतर्फ केन्द्रीत नभई सवारी जाँच गरेर पैसा संकलन गर्ने तर्फ केन्द्रित भएको देखिएको छ ।
चितवन प्रहरीले तीन महिनामा मादक प्रदार्थ सेवन गरी सवारी चलाउन, सवारी अनुमतिबिना सवारी चलाउने, व्लुबुक नभएका सवारी चालक गरी ११ हजार ५५० जनालाई कारबाही गरेको छ । उनीहरुबाट ८५ लाख ३७ हजार रूपैयाँ राजस्व संकलन गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।
मादक प्रदार्थ सेवन गरी सवारी चलाउने ६८ जनालाई सार्वजनिक अपराध मुद्दा चलाइएको उनले जानकारी दिए । प्रहरीले तीन महिनाको बीचमा गुण्डागर्दी नियन्त्रणको लागि राम्रो काम गरेको छ ।
यो बीचमा प्रहरीले २३ जनालाई पक्राउ गरी १४ जनालाई मुद्दा चलाएको छ । प्रहरीले लागूऔषध नियन्त्रणमा पनि सफलता हात पारेको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले तीन महिनामा लागूऔषधको कारोबार गर्ने २० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमध्ये १४ वटा मुद्दा चलाइएको प्रहरी उपरीक्षक थापाले बताए ।







प्रतिक्रिया