मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संशोधन प्रस्ताव फिर्ता हुँदैन, परिमार्जन हुन सक्छ : प्रधानमन्त्री

संशोधन प्रस्ताव फिर्ता हुँदैन, परिमार्जन हुन सक्छ : प्रधानमन्त्री


पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताएका छन् ।
 
प्रेस सेन्टर कास्कीद्वारा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले असन्तुष्ट प्रतिपक्ष एवम् आन्दोलनरत दलसँग छलफलका आधारमा परिमार्जन गरेर अघि बढ्न सकिने बताए ।
 
‘सरकारले संशोधन प्रस्ताव सबैलाई सहमति हुने किसिमले ल्याएको हो, झन्डै चार महिना लगाएर संशोधन प्रस्ताव ल्याइएको हो,’ उनले भने, ‘प्रतिपक्ष, मधेसी मोर्चा, थारु, सङ्घीय गठबन्धनसँग धेरै छलफलपछि मात्र संशोधन प्रस्ताव ल्याइएको हो ।’
 
संशोधन प्रस्ताव अङ्गीकृतलाई राष्ट्रपति बनाउने, हिन्दी भाषालाई राष्ट्रभाषा बनाउने, देश विखण्डन गर्ने गरी ल्याउने प्रचार गरिए पनि नेपाली जनतालाई चोट पु¥याउने केही विषय त्यसमा नरहेको उनको भनाइ थियो ।
 
‘सरकारले ल्याएको सीमाङ्कनको प्रस्ताव अहिलेको प्रतिपक्षले नै सत्तापक्ष भएका समयमा अघि सारेको प्रस्ताव हो,’ प्रधानमन्त्रीले भने, ‘यसमा अस्पष्ट हुनुपर्ने छैन, प्रतिपक्षले विरोध गर्नुको औचित्य सिद्ध हुँदैन ।’ 
 
आफूले गर्दा राष्ट्रवादी हुने, अर्कोले गर्दा राष्ट्रघाती हुने भन्ने हुँदैन, प्रधानमन्त्रीले भने । सरकारका तर्फबाट छलफललाई अघि बढाएको बताउँदै उनले प्रतिपक्षलाई पनि लिएर संशोधन प्रस्ताव, महाअभियोग र निर्वाचन कार्यक्रम घोषणा प्रस्ताव प्याकेजमा सहमति गर्ने प्रयास भइरहेको उल्लेख गरे । सरकारले सुरुमा स्थानीय तहको नै निर्वाचन गर्ने जानकारी गराउँदै उनले त्यसपछि प्रदेश र केन्द्रको निर्वाचन गर्ने बताए ।
 
अस्तिमात्र शेरबहादुर देउवा, केपी ओलीसँगको छलफलमा अहिलेको स्थानीय निकायलाई नै स्थानीय तह बनाएर निर्वाचनमा जाने कि भन्नेबारे छलफल भए पनि त्यसबारे निष्कर्षमा पुगिनसकेको उनको भनाइ छ ।
 
संविधानको कार्यान्वयनका लागि २०७४ माघ ७ भित्रमा निर्वाचन गर्नुपर्ने र निर्वाचन गर्न सकिने अवस्था पनि रहेको बताउँदै उनले सरकार तथा प्रमुख दलहरू सबै निर्वाचनकै पक्षमा रहेको बताए ।
संसद् अवरोध गरेर समस्याको समाधान नहुने बताउँदै उनले संसद् अवरुद्ध नगर्न प्रतिपक्षी नेकपा (एमाले)लाई आग्रह गरे । 
 
आन्दोलन रोकेर छलफलबाट समस्याको समाधान खोज्नु आवश्यक भएको बताउँदै प्रधानमन्त्रीले आन्दोलन बढ्दै जाँदा यसको फाइदा परिवर्तनका विरोधी शक्तिलाई फाइदा पुग्नेतर्फ गम्भीर बन्नुपर्ने पनि बताए ।
 
सङ्घीयता तथा परिवर्तनहरू उल्टने कुनै सम्भावना नरहेको बताउँदै सङ्घीय गणतन्त्र एवम् लोकतान्त्रिक आन्दोलनका परिवर्तनलाई उल्ट्याउन खोज्नु केवल दुस्साहस भएको उनको भनाइ थियो ।
पत्रकार सम्मेलन प्रेस सेन्टर कास्कीका अध्यक्ष विभु भुसालको अध्यक्षतामा भएको थियो । 

शेयर गर्नुहोस:

0
Shares