खोटाङ । घरको पेटीमा गुन्गुनाउँदै गरेकी एक वृद्धाको आवाज सुनिन्थ्योे, ‘त्यसको बोली मात्र सुन्न पाए पनि कस्तो हुन्थ्यो !’ उनी आँखाभरि आँसु पारेर भन्दै थिइन्, ‘पैसा कमाएर आमाबुबाको दुःख हेर्ला भनेको त ऊ सम्पर्कमा छैन । जसरी भए पनि घर फर्केर आइदिए हुन्थ्यो !’
खोटाङको उत्तरपूर्वी गाविस निर्मलीडाँडा–१ पेलुङका कुमार कटवाल विसं २०६३ मा पैसा कमाउने सिलसिलामा उमेर बढाएर मलेसिया गएका थिए । उनी अहिले घरपरिवारको सम्पर्कमा छैनन् । मलेसिया गएको दशवर्षसम्म छोरा घरमा नआएपछि उनका आमाबुबा अहिले उनैको कुरा गरेर दिन बिताउने गरेका छन् ।
‘पैसाको लोभमा सोह्रवर्षको छोरालाई उमेर बढाएर विदेश पठाइयो’, उनका बुबा टङ्क कटवाल भन्छन्, ‘विदेशबाट छोराले पठाउने पैसाको त कुरै छाडौँ, अहिलेसम्म ऊ नै सम्पर्कमा नआउँदा निराश भएका छौँ ।’
छोरालाई विदेश पठाउन रु ९० हजार ऋण काढेर काठमाडौँसम्म पु¥याएको बुबा टङ्कले विगत सम्झँदै सुनाए । ‘छोरालाई एअरपोर्टसम्म पु¥याउन म आफैँ गएको थिएँ’, उनले भने, ‘हामीमा आशा थियो, छोराले पैसा कमाएर केही गर्ला भन्ने, तर अहिले ऊ गएको ऋणसम्म तिर्न सकिएको छैन ।’
छोरालाई विदेश पठाउँदाको ऋणको ब्याज मात्र अहिले साँवा रकमको दोब्बर भइसकेको कटवाल दम्पतीले बताएका छन् । ‘छोरा नेपालबाट गएको तीनवर्षसम्म सम्पर्कमा थियो,’ उनकी आमा हर्कमाया कटवालले गहभरि आँसु पार्दै भनिन्, ‘सम्पर्क हुँदासम्म उसले कमाई हुँदैन भन्ने गथ्र्यो । अहिले सम्पर्कै हुन छाड्यो । जे भए पनि एक दिन फर्केर आउँछ होला !’
कटवाल दम्पती अहिले पैसाभन्दा पनि छोराको खोजीमा रहेका छन् । उनीहरू भन्छन्, ‘अहिले हामीलाई पैसा चाहिएको छैन । छोरा घर फर्केर आइदिए हुन्थ्यो भन्नेमा हामी छौँ ।’ उनीहरू एकै स्वरमा थप्छन्, ‘चाडपर्व आउँदा सबैका छोराछोरी घरमा आएका हुन्छन् तर हाम्रो छोरा सम्पर्कमा नहुँदा चाडपर्वभरि नै रोएर बिताउनुपर्ने हुन्छ ।’
कटवाल दम्पतीले मलेसियामा बेपत्ता आफ्नो छोरा खोजी गरी दिन उनीहरूको गाउँमा पुगेका सुरक्षित आप्रवासन परियोजना (सामी)का टोलीसमक्ष आग्रहसमेत गरेका छन् । ‘हामीलाई छोरा नेपाल फर्काउने प्रक्रिया सिकाइ दिनुहोस्’, गन्धर्व गीतियात्रा लिएर निर्मलीडाँडा पुगेका सामीको टोलीसमक्ष उनीहरूले भने, ‘सक्नुहुन्छ भने, तपाईंहरूले नै हाम्रो छोरालाई छिटोभन्दा छिटो नेपाल फर्काइदिनुप¥यो ।’
उनीहरूसँग छोरा विदेश पठाएको कागजातसमेत नरहेको बालसेवा समाज नेपाल, नेर्पामार्फत सञ्चालित सामी परियोजनाको विद्यालय तथा आमसञ्चार कार्यक्रमका सामाजिक परिचालक लीला निरौलाले बताए ।
उनीहरूलाई आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिन आग्रह गरिएको निरौलाले जानकारी दिए । सामी परियोजनाले विदेशमा पुगेर ठगीमा परेका, भनेजस्तो काम र दाम नपाएका, यातना भोगेका, उतै ज्यान गुमाएका लगायतलाई उद्धार गर्दै आएको छ । सोही सन्देश दिन सामीको गन्धर्व गीतियात्रा टोली निर्मलीडाँडा पुगेको थियो । रासस







प्रतिक्रिया