मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतका राष्ट्रपति मुखर्जीबाट पशुपतिनाथको विशेष पूजाअर्चना

भारतका राष्ट्रपति मुखर्जीबाट पशुपतिनाथको विशेष पूजाअर्चना


काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आराध्यदेव पशुपतिनाथको आज बिहीबार विशेष पूजाअर्चना गरेका छन् । 
 
राष्ट्रपति मुखर्जीले मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गरे । 
 
उनले गर्भगृहबाट प्रवेश गरी धर्मशिला, दक्षिणद्वारबाट भगवान् पशुपतिनाथको अघोर स्वरुप, पूर्वीद्वारबाट तत्पुरुष स्वरुपको पूजाअर्चना गरे । उनले शास्त्रोक्त विधिपूर्वक पञ्चामृत स्नान र रुद्रीपाठसहित पशुपतिनाथको पूजा गरेका छन् । 
 
त्यसअघि उनले सङ्कटमोचन हनुमान र नवग्रहको दर्शन गरेका थिए । साथै उनले सवालाख बत्ती बालेर देवाधिदेव महादेवको विशेष आराधना गरे । 
 
राष्ट्रपति मुखर्जीलाई पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, सोही मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डन तथा कोषका अन्य पदाधिकारीले स्वागत गरेका थिए । 
 
राष्ट्रपति मुखर्जी मन्दिरको मूलद्वारबाट प्रवेश गरेपछि गार्गी कन्या गुरुकुलका छात्रा र वेदविद्याश्रमका बटुकले स्वस्ति वाचन गरेका थिए भने हाकुपटासीको पहिरनमा सजिएका पञ्चकन्याले स्वागत गरेका थिए । साथै मन्दिर परिसरमा एकत्रित भएका नरनारीले राष्ट्रपति मुखर्जीको स्वागत गरेका थिए । 
 
राष्ट्रपतिद्वारा विशेष पूजा सम्पन्न भएपछि मूलभट्टले फूलप्रसाद प्रदान गरे भने कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री शाहीले कोषका तर्फबाट राष्टपति मुखर्जीलाई स्नेहोपहार प्रदान गरे । 
 
त्यसअघि राष्ट्रपति मुखर्जीले पशुपतिनाथ मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए । रासस
 

शेयर गर्नुहोस:

0
Shares