मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नयाँ नोट साट्नेको राष्ट्र बैंकमा भीड

नयाँ नोट साट्नेको राष्ट्र बैंकमा भीड


काठमाडौँ । दसैँका लागि नयाँ नोट साट्नेको बिहानैदेखि थापाथलीस्थित नेपाल राष्ट्र बैंकमा भीड लागेको छ । बैंकमा पैसा साट्नेको अत्यधिक चाप बढे पनि छिटोछरितो सटहीको व्यवस्था नहुँदा नोट साट्नेको राष्ट्र बैंकदेखि प्रसूतिगृहसम्म नै भीड लागेको छ । 
 
बैंकका नोट व्यवस्थापन विभाग प्रमुख भुवन कँडेलले पैसा साट्न चाहने सर्वसाधारण तथा सेवाग्राहीको मागअनुसार सटही भइरहेको जानकारी दिँदै सेवाग्राहीको एकैचोटि चाप बढेपछि भीड व्यवस्थापनमा केही समस्या आएको स्वीकारे । 
 
उनका अनुसार दैनिक करिब तीन हजार सेवाग्राहीले नोट सटही गरेका छन्, अहिलेसम्म करिब रु ३५ करोड सटही भइसकेको छ । सरकारी तथा अन्य कार्यालयबाट पत्र लिएर जाने कर्मचारीलाई छिटोछरितो आवश्यकताअनुसार रकम सटही भएको छ । 
 
पैसा साट्न भनी बिहान ७ बजेदेखि आएर लाइन बसेका दिवाकर देवकोटाले करिब तीन घन्टा लाइन बसेर पैसा साटेको जानकारी दिए । बैंकले प्रतिव्यक्तिलाई अधिकतम ३७ हजारसम्मको सटही सुविधा उपलब्ध गराएको जनाएको छ ।  
 
राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकका साथै अन्य बैंकलाई पनि पैसा साट्न रकम पठाइसकेको जनाइएको छ । बैंकले सर्वसाधारणलाई दसैँमा टीका लगाएपछि अबिरसहितको रातो हातले पैसाको प्रयोग नगर्न आग्रहसमेत गरेको छ । रासस