चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा प्रत्येक किलोमिटरमा दुर्घटना जोखिम उच्च रहेको एक अध्ययनले देखाएको छ । सडक क्षेत्रसँग सम्बन्धित इन्जिनियर र ट्राफिक प्रहरीको संयुक्त टोलीले गरेको अध्ययनले यस सडक खण्डको ३२ ठाउँमा दुर्घटनाको उच्च जोखिम रहेको देखाएको छ ।
जुगेडीदेखि मुग्लिनसम्मको २२ किलोमिटर सडक क्षेत्रमा ३२ ठाउँमा दुर्घटनाको सम्भावना उच्च देखिएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले जानकारी दिए । यसरी हेर्दा प्रत्येक किलोमिटर दुर्घटनाको उच्च जोखिम क्षेत्रमा पर्छ ।
उनको भनाइअनुसार मुग्लिनदेखि मौवा खोलासम्म ६ ठाउँमा दुर्घटनाको उच्च जोखिम क्षेत्र भनेर पहिचान गरिएको छ । मौवा खोलादेखि उता धादिङ जिल्ला पर्दछ । आँपटारीदेखि जुगेडी क्षेत्रसम्म कुनै उच्च जोखिम क्षेत्र नरहेको ट्राफिकले जनाएको छ । उक्त सडक खण्डको अन्य ठाउँमा पनि सामान्य जोखिम क्षेत्रको रुपमा पहिचान गरिएको छ । जोखिमका आधारमा सडक सुरक्षा योजना तयार पारेर काम थालिएको ट्राफिकले जनाएको छ ।
गत शुक्रबार बिहान बस दुर्घटना र शनिबार बिहान ट्रक दुर्घटना भएपछि यस सडक क्षेत्रमा आवश्यक सुधारका लागि पहल भएको छ । सडक विभाग, ट्राफिक प्रहरी र हाल यस क्षेत्रमा सडक सुधार आयोजनाको काम गरिरहेका ठेकेदार कम्पनीबीच समन्वय गर्ने निर्णय भएको प्रनि भेटवालले जानकारी दिए ।
दुर्घटनाको उच्च जोखिम क्षेत्र भनिएको सडक छेउमा रेलिङ निर्माण, प्यारफिट निर्माण, ग्याविन वाल निर्माणको काम गरिने भएको छ । त्यस्तै, ठाउँ–ठाउँमा रिफ्लेक्ट लाइट राख्ने तयारी भएको छ । सडक साँघुरो, धेरै घुम्ती, तिखो घुम्ती, सडकको तल्लो भाग कमजोर आदि कारणले यस सडक क्षेत्रमा पछिल्लो समय साना–ठूला दुर्घटनाहरु भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
‘सडकमा राखिने रिफ्लेक्ट लाइटले रातको समयमा हुने दुर्घटनाबाट बचाउन ठूलो मद्दत गर्छ’ प्रनि भेटवालले भने, ‘चालकहरुलाई सचेत गराउनका लागि सावधानी, चेतनामूलक र जानकारीमुलक बोर्डहरु पनि प्रशस्त राख्ने तयारी भएको छ ।’ जोखिमयुक्त पुलको तत्काल मर्मत गर्ने तयारीसमेत भएको छ । मुग्लिनदेखि मौवाखोलासम्मको सडक क्षेत्रमा सडक विभागले काम गर्ने भएको छ ।
‘भौतिक पूर्वाधारको सुधार आफ्नो ठाउँमा छ’ प्रनि भेटवालले भने, ‘सबैभन्दा पहिले सम्बन्धित गाडी चालकलाई योग्य र अनुभवी भएको हुनुपर्छ, गाडीको यान्त्रिक अवस्था दुरुस्त हुनुपर्छ, यात्राका लागि अनुमति लिएको हुनुपर्छ ।’ लगातारको दुर्घटनाले यात्रामा आममानिसलाई सशंकित बनाउन थालेपछि कानुनको पालना भन्दै ट्राफिक प्रहरीले कडा निगरानी गरेको छ ।
सडक अवस्थाबारे अध्ययन गर्न पुगेका ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक कृष्णज्यू ठकुरीले भने, ‘धेरै ठाउँमा जोखिम भएको पायौँ, अब छिट्टै आवश्यक सुधार गर्ने छौँ ।’ पछिल्ला सडक दुर्घटनाको कारण सडकको खराब अवस्था पनि एक भएको भन्दै प्रनानि ठकुरीले भने, ‘सडक सुधारका पक्षमा पनि काम गरिने छ ।’






प्रतिक्रिया