काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई समर्थक एकीकृत नेकपा माओवादीका ४५ जना केन्द्रीय नेताहरुले सामूहिक राजीनामा दिएका छन् । नेता देवेन्द्र पौडेलको नेतृत्वको टोलीले पार्टी कार्यालय पेरिसडाँडामा पुगेर राजीनामा बुझाएका छन् ।
‘वैकल्पिक नयाँ धारको निर्माणका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छौं’ नेता रामरिझन यादवले भने ।
एमाओवादी परित्याग गर्नेमा देवेन्द्र पौडेल, हिसिला यमी, रामचन्द्र झा, नवराज सुवेदी, रामरिझन यादव, गंगा श्रेष्ठ, खिमलाल देवकोटा, रामकुमार शर्मा छन् ।
नन्दनकुमार दत्त, रमेश रन्जन झा, कल्पना धमला, चिनक कुमी, बलावती शर्मा, देवेन्द्र पराजुली, भीमप्रसाद गौतम, साथी स्वनाम, महेन्द्र पासवान लगायतले पनि एमाअओवादी परित्याग गरेका छन् । राजीनामा दिनेमा सांसद सदस्य छैनन् । भट्टराई समर्थक सांसद प्रभु साहले पनि एमाओवादी छाडेका छैनन् ।
पार्टी छाडेकाहरुले पार्टीले विगतको गल्तीबाट पाठ सिक्नुको साटो निरन्तर स(साना आफ्नै गल्तीहरुबाट बच्न नसकेको र जनविरोधी र यथास्थितिवादी धाराहरुको विकल्पमा नँया शक्तिको रुपमा स्थापित भएको पार्टी संगठनात्मक र वैचारिक दुवै दृष्टिले कमजोर भएको बताएका छन् ।
एमाले र कांग्रेसकै संघीय मोडलमा सहमति जनाएको, जनताको भारतको अघोषित नाकाबन्दीको मारमा रहेका बेला समग्र देश र जनताको पक्षमा आफ्नो भूमिका निर्वाह गर्नुका साटो जोसँग मिलेर पनि, जसरी पनि पार्टीको शीर्ष नेतृत्वको टिम नै पदको निम्ति लुछाचुँडी गर्नु विचलन र विघटनको पराकाष्ठा भएको बताएका छन् ।
‘इतिहासका सबै प्रकारका जनपक्षीय र जायज आन्दोलनमा प्रतिगमनकारी दमनको बाटो लिनेहरुलाई पद प्राप्ति गर्नका लागि मित्र ठान्दै सहकार्य गर्नु र इतिहासका सबै प्रकारका न्यायपूर्ण आन्दोलनका सहयात्रीहरुलाई कपोकल्पीत आरोप लगाउनु र वदनाम गर्नु कदापी क्रान्तिकारी हुन सक्दैन्’ पार्टीमा बुझाइएको फरक मतमा भनिएको छ ।
पछिल्लो समयमा पार्टीको रणनीति र कार्यनीतिमा कुनै तादाम्यता नरहेको भन्दै उनीहरुले भनेका छन्(‘गठनात्मक प्रणाली र पद्धतिका दृष्टिले हाम्रो पार्टी द्वन्दवादी तरिकाले होइन कि एकाधिकारवादी तरिकाले चल्ने गरेको छ ।’ संगठनात्मक सिद्धान्तमा पार्टी अस्पस्टता, तदर्थवाद र अराजकतामा फसेका भन्दै उनीहरुले पार्टी केही निश्चित “अभिजात” हरुको मौजा जस्तो र अरु मोही जस्ता भएको आरोप लगाएका छन् ।
वामपन्थी ध्रुवीकरणका नाममा पुरानै संसदीय संस्कारको फोहोरी कुण्डमा पस्नु सैद्धान्तिक गल्ती हुने भन्दै असन्तुष्ट नेताहरुले नयाँ वैकल्पिक नयाँ शक्ति निमार्णको अभियानमा लागेको बताएका छन् ।
रामकुमार शर्माले भने, ‘अध्यक्ष प्रचण्डले पार्टीको नीति, एजेण्डा र वर्ग पनि छाड्नु भयो त्यसैले हामी नयाँ शक्ति बनाउने अभियानमा लाग्यौं ।’
डा। भट्टराईले देशमा ‘नयाँ शक्ति’ आवश्यक रहेको भन्दै गत असोज ८ गते एमाओवादी परित्याग गरेका थिए । त्यसलगत्तै देशब्यापी अन्तरक्रिया लगायतका कार्यक्रम सन्चालन गरेका थिए । भट्टरार्इका कार्यक्रमहरूमा मंगलबार राजीनामा दिएका नेताहरू पनि सहभागी हुँदै आएका थिए । #अनलाइनखबर
प्रतिक्रिया