अमेरिका समाचार

सामाजिक संस्थाहरुले भने : बोस्टन सप्ताह सफल बनाउन सक्दो सहयोगी भूमिका निर्वाह गर्नेछौं

सामाजिक संस्थाहरुले भने : बोस्टन सप्ताह सफल बनाउन सक्दो सहयोगी भूमिका निर्वाह गर्नेछौं


अमेरिका, बोस्टन ।अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा हुनगइरहेको “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६” लाई सफल बनाउन न्यू इङ्गल्याण्ड क्षेत्रमा क्रियाशील प्रवासी नेपालीहरुको संघ संस्थाहरुले सक्दो सहयोगी भूमिका निर्वाह गर्ने बताएका छन्। गत आइतबार पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)ले महायज्ञलाई केन्द्रमा राखेर आयोजना गरेको बैठकमा सहभागी न्यू इङ्गल्याण्ड क्षेत्रमा क्रियाशील प्रवासी नेपालीहरुका संघ संस्थाहरुले यस्तो बताएका हुन्।

प्याब्फोनका ट्रस्टिज अध्यक्ष सुशीलचन्द्र पौडेल र कार्यसमितिका अध्यक्ष ध्रुव घिमिरेको संयुक्त अध्यक्षता रहेको बैठकमा प्याब्फोनका तर्फबाट महायज्ञ सफल बनाउन संस्थागत भूमिका अत्यन्त महत्त्वपूर्ण हुने जनाउदै संस्थागत सहयोगी भूमिका र महत्त्वपूर्ण सुझाव सल्लाहका लागि सहभागीहरु समक्ष अनुरोध गरिएको थियो।

Advertisement

बैठकमा प्याब्फोनको तर्फबाट प्याब्फोनको गतिविधिहरु, विगत एवम् वर्तमान अवस्था र भावी योजना, महायज्ञको उद्देश्य, प्रगति विवरणसहित तयारीको अवस्था, कार्ययोजना, कार्यतालिका, कार्यविभाजन, प्रवासी नेपालीहरुका संघ संस्था तथा समुदायबाट गरिएको अपेक्षा आदिका बारेमा प्रकाश पार्दै सहयोगका लागि अपिल गरिएको थिए।

बैठकमा सहभागी संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु र अन्य सहभागीहरुले महायज्ञ जस्तो पवित्र र बहुआयामिक कार्यक्रम आयोजना गर्न लागेकोमा प्याब्फोन परिवारलाई धन्यवाद दिदै उक्त कार्यक्रमलाई सफल बनाउन हालेमालो गर्ने बचन दिनुका साथै सफलताको कामना गरेका थिए।

बैठकमा महायज्ञको पहिलो दिन अर्थात् अगष्ट १६,२०२६ आइतबार हुने कलशयात्राका बारेमा विशेष छलफल भएको थियो। बैठकले कलशयात्रालाई ऐतिहासिक बनाउने निर्णय गरेको छ। कलशयात्राका क्रममा नेपाली पन तथा पहिचान झल्किने गरी प्रवासी नेपालीहरुको संघ संस्थाहरुको सक्रिय सहभागितामा मौलिक झाँकीहरु प्रदर्शन गर्ने र त्यसका लागि आपसमा समन्वय र सहकार्य गरी आवश्यक तयारी गर्ने निर्णय गरिएको छ।

यसका अतिरिक्त बैठकमा सहभागीहरुले थप तयारीका आवश्यक प्राथमिक क्षेत्र र विषयहरु, श्रोत, साधन, आर्थिक पाटो, सवल पक्ष, कम्जोर पक्ष, अवसर, चुनौती, समाधानका उपायहरुलगायत विषयहरुमा गहन छलफल गरेका थिए।

बैठकले महायज्ञ समस्त न्यू इङ्गल्याण्डवासी प्रवासी नेपालीहरुको गर्बिलो बहुआयामिक कार्यक्रम भएको ठहर गर्दै सफलताका लागि तन, मन र धनका साथ एकताबद्ध भएर अभियानमा जुट्ने र कोही नछुट्ने गरी सबैलाई सहभागिताका लागि आव्हान गर्ने टुङ्गो गरेको छ।

बैठकमा न्यू इङ्गल्याण्ड क्षेत्रमा क्रियाशील प्रवासी नेपालीहरुको दुई दर्जन बढी विभिन्न संघ संस्थाहरु मध्ये दर्जन बढी संस्थाहरुको उपस्थिति रहेको थियो।

धार्मिक ज्ञान प्रवाह गर्ने, सामुदायिक एकतालाई थप बलियो बनाउने, नेपाली धर्म, संस्कार, संस्कृति आदिको जगेर्ना गर्ने तथा पुस्तान्तरण गर्ने र संस्थाका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने मुख्य उद्देश्य राखेर आयोजना गर्न लागिएको यस महायज्ञमा, पचास हजार डलर खर्च हुने र दान स्वरुप १५ लाख डलर आर्थिक रकम सङ्कलन हुने अनुमान गरिएको छ।

कार्यक्रम सफल बनाउन कार्यसमितिका प्रथम उपाध्यक्ष मिलन कुमार कार्कीको संयोजकत्वमा श्रीमतभागवत ज्ञान महायज्ञ “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६”मूल समारोह समिति गठन गरिनुका साथै विभिन्न उपसमितिहरु गठन गरेर कार्यविभाजन गर्दै तयारीलाई तिब्रता दिइरहेको छ।

श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६”यही आउदो अगस्ट १६ देखि अगस्ट २३, २०२६ सम्म ब्रेनट्री स्थित प्याब्फोनको आफ्नै सामुदायिक भवनमा हुदैछ। उक्त महायज्ञमा चर्चित श्रीमतभागवत कथावाचक पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्ने भएका छन्।