अमेरिका समाचार

बोस्टन महायज्ञ अभियानमा समाहित हुन कथावाचक पण्डित पोखरेलले गरे आव्हान

बोस्टन महायज्ञ अभियानमा समाहित हुन कथावाचक पण्डित पोखरेलले गरे आव्हान


अमेरिका ,बोस्टन। अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा हुनगइरहेको “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६” अभियानमा समाहित हुन श्रीमतभागवत कथावाचक पण्डित दीनबन्धु पोखरेलले आव्हान गरेका छन्। उक्त महायज्ञका प्रमुख कथावाचकसमेत रहेका पोखरेलले विशेषतः न्यू इङ्गल्याण्डवासी प्रवासी नेपालीहरुलाई सहभागिताका लागि निमन्त्रणा गर्दै मन, बचन र कर्मले समाहित हुन आव्हान गरेका हुन्।

आव्हान गर्ने क्रममा कथावाचक पण्डित पोखरेलले महायज्ञ अभियानलाई सफल बनाउन कोही पनि नछुटी घर घरबाट उठ्न र बस्ती बस्तीबाट जुट्न अनुरोध गरेका छन्।

Advertisement

धार्मिक ज्ञान प्रवाह गर्ने, सामुदायिक एकतालाई थप बलियो बनाउने, नेपाली धर्म, संस्कार, संस्कृति आदिको जगेर्ना गर्ने तथा पुस्तान्तरण गर्ने र संस्थाका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने मुख्य उद्देश्य राखेर आयोजना गर्न लागिएको यस महायज्ञ, यही आउदो अगस्ट १६ देखि अगस्ट २३, २०२६ सम्म हुदैछ।

ब्रेनट्री स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को आफ्नै सामुदायिक भवनमा हुने उक्त महायज्ञ श्रीमतभागवत ज्ञानको सञ्चार गर्ने, नेपाली मनलाई जोड्ने र नेपाल र नेपालीको कला, धर्म, संस्कार र संस्कृतिलाई अर्को पुस्तालाई पुस्तान्तरण गर्ने अभियान भएको जिकिर गर्दै पण्डित पोखरेलले भने,”श्रीमतभागवत रुपी ज्ञान गङ्गामा डुबुल्की मार्न, नेपाली मनलाई जोड्न र हाम्रो कला, धर्म, संस्कार र संस्कृतिलाई अर्को पुस्तालाई पुस्तान्तरण गर्ने अभियानमा मन, बचन र कर्मले समाहित हुनका लागि हार्दिक निमन्त्रणा गर्दछु।”

कथावाचक पण्डित पोखरेलले सन् २०१७को अगस्ट ६ देखि १२सम्म (सात दिन)शिवालय मन्दिर परिसरमा प्याब्फोनद्वारा आयोजित श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ तथा बृहत् आध्यात्मिक महोत्सव “बोस्टन सप्ताह-२०१७” मा पनि प्रमुख कथावाचकको भूमिका निर्वाह गरेका थिए। सानै उमेरदेखि नै धार्मिक गतिविधिहरुमा सक्रिय हुदैआएका उनी देश विदेशमा श्रीमतभागवत कथावाचन गर्ने एक चर्चित व्यक्तित्व हुन्।