अमेरिका ,बोस्टन। अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)ले श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६”को तयारीलाई तिब्रता दिएको छ। महायज्ञको मिति नजिकिदै गर्दा संस्थाले आवश्यक तयारीलाई तिब्रता दिएको हो।
सप्ताह ज्ञान महायज्ञ आयोजना गर्नका लागि कार्यसमितिका प्रथम उपाध्यक्ष मिलन कुमार कार्कीको संयोजकत्वमा श्रीमतभागवत ज्ञान महायज्ञ “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६”मूल समारोह समिति गठन गरिएको थियो। उक्त समितिले महायज्ञ सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरेर कार्यविभाजन गर्दै तयारीलाई तिब्रता दिइएको जनाएको छ।
संयोजक कार्कीले दिएको जानकारी अनुसार हालसम्म पूजा व्यवस्थापन उपसमिति, आवास तथा भोजन उपसमिति, यातायात तथा पार्किङ व्यवस्थापन उपसमिति, सञ्चार व्यवस्थापन उपसमिति, प्रशासन उपसमिति, भजन कीर्तन उपसमिति, अतिथि सत्कार उपसमिति, स्टेज तथा सजावट उपसमिति, कलश यात्रा उपसमिति, महाप्रसाद व्यवस्थापन उपसमिति, गुरु व्यवस्थापन उपसमिति, बालबालिका व्यवस्थापन उपसमिति, ध्वनी व्यवस्थापन उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, सरसफाइ उपसमिति,सहयोग तथा सहजिकरण उपसमिति, महिला परिचालन उपसमिति, समन्वय समिति लगायत दर्जन बढी उपसमितिहरु गठन गरिसकिएको छ।
धार्मिक ज्ञान प्रवाह गर्ने तथा संस्थाका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने मुख्य उद्देश्य राखेर आयोजना गर्न लागिएको यस महायज्ञ, यही आउदो अगस्ट १६ देखि अगस्ट २३, २०२६ सम्म हुदैछ।

तयारीलाई तिब्रता दिनेक्रममा गत जुलाई १९,२०२६ आइतबार मूल समारोह समितिले भर्च्युअल बैठकको आयोजना गरेको थियो। उक्त बैठकमा महायज्ञको उद्देश्य, लक्ष्य, हालसम्मको तयारीको अवस्था, थप तयारीका आवश्यक प्राथमिक क्षेत्र र विषयहरु, श्रोत, साधन, आर्थिक पाटो, चुनौती, अवसर, समाधानका उपायहरुलगायत विषयहरुमा गहन छलफल गरिएको थियो।
बैठकमा संयोजक कार्कीले वर्तमान तयारीको अवस्थाका बारेमा जानकारी दिएका थिए। उनले आवश्यक थप तयारीका सम्बन्धमा प्रकाश पार्दै प्रभावकारी सुझाव तथा सल्लाह प्रदान गर्न बैठका सहभागीहरुलाई अनुरोधसमेत गरेका थिए। बैठकमा संस्थाको बोर्ड अफ ट्रस्टिजका अध्यक्ष सुशील पौडेल, कार्यसमितिका अध्यक्ष ध्रुव घिमिरे, निवर्तमान अध्यक्ष विरोचन नेपाल, महायज्ञ मूल समारोह समिति अन्तर्गत गठित उपसमितिहरुका उपस्थित संयोजक तथा सदस्यहरुहरुलगायतले आआफ्ना धारणाहरु प्रस्तुत गरेका थिए।
छलफल पछि बैठकले मूलतः गठित समितिहरुलाई थप क्रियाशील बनाउने र आवश्यकता अनुसार सदस्यहरु मनोनित गर्ने, थप आवश्यक समितिहरु गठन गर्ने, प्रचारप्रसारलाई विशेष प्राथमिकता दिने, सूचना तथा सन्देशहरुमा विशेष ध्यान दिदै प्रचारप्रसार सामग्रीहरु तयारी गरी सार्वजनिक गर्ने, तयारीका क्रममा आवश्यक पर्ने अर्थको जोहो गर्ने, सरोकारवालाहरुसंग समन्वय गर्ने, पत्राचार गर्ने, निमन्त्रणा गर्ने, न्यू इङ्गल्याण्ड क्षेत्रमा क्रियाशील नेपाली समुदायका संघ संस्थाहरुको साथ सहयोग लिने, न्यू इङ्गल्याण्डवासी प्रवासीहरु सबैलाई समेटेर परिचालन गर्नेलगायत निष्कर्ष निकालेको थियो।
बैठकले “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६” समस्त न्यू इङ्गल्याण्डवासी प्रवासी नेपालीहरुको गर्बिलो उत्सवमय कार्यक्रम हुनेमा विश्वस्त हुदै सहभागिताका लागि सबैलाई चुले निम्तो गरेको छ। त्यसैगरी बैठकले, कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न तन, मन र धनका साथ एकताबद्ध भएर अभियानमा जुट्न सबैलाई आव्हानसमेत गरेको छ।
सन् २०१२मा स्थापित यस संस्थाले पहिलो श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ “बोस्टन सप्ताह-२०१७”मा उठेको दान रकमले जोडिएको ब्रेनट्री स्थित संस्थाको आफ्नै सामुदायिक भवनमा दोश्रो श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६” आयोजना गर्न लागेको हो। उक्त पहिलो महायज्ञमा कथा वाचनको मूख्य भूमिका निवाह गरेका कथा वाचक पण्डित दीनबन्धु पोखरेलले नै यस महायज्ञमा पनि कथा वाचकन गर्ने भएका छन्।












प्रतिक्रिया