अमरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले क्यान्सरबाट पीडित पत्रकार राजेन्द्र केसी (र केसी)को उपचारका लागि आर्थिक सहयोग गरिदिन सहयोगी मनहरुलाई अपिल गरेको छ।
करिब एकमहिनाअघि मात्र मेटास्ट्याटिक मालिग्नेन्ट प्यानक्रियटिक क्यानसरबाट पिडित भएको पत्तो पाएका पत्रकार केसीको उपचारका लागि सक्दो भरथेग गर्ने उद्देश्यले आर्थिक सहयोगका लागि नेजाले सबैसँग अपिल गरेको हो।
आफ्नो साधारण सदस्यसमेत रहेका पत्रकार केसीलाई संस्थाको तर्फबाट एकहजार अमेरिकी डलर सहयोग रकम प्रदान गर्दै नेजाले संस्था परिवारभित्र र संस्था बाहिरबाट पनि गोफन्डमीमार्फत थप सक्दो आर्थिक सहयोग जुटाउन सबैलाई अपिल गरेको छ।
पत्रकार केसी र उनको परिवारले आर्थिक सहयोगका लागि आग्रह गरेपछि, केसी र उनको परिवारकै स्वीकृतिमा नेजाले गोफन्डमीमार्फत आर्थिक सहयोग जुटाउने अभियान सुरू गरेको हो ।
केसीले अहिले अस्पतालमै बसेर केमोथेरापी उपचार सेवा लिइरहेका छन् । छ वर्षअघि नेपालबाट अमेरिका आएका केसी हाल श्रीमति र एक छोरीसहित अमेरिकाको केन्टकीमा बस्दै आएका छन् ।
केसी परिवारले जनाएअनुसार अचानक अप्रत्याशित रुपले आइलागेको स्वास्थ्य समस्याको उपचारका क्रममा निकै खर्च भइसकेको, बचत रकम रित्तिदै गएको र आम्दानीको श्रोतहरु पनि बन्द भएकाले स्वास्थ्य समस्यासँगै आर्थिक र मानसिक समस्याबाट पनि बिरामी र उनको परिवार गुज्रिरहनु परिरहेको अवस्था छ।
पचास हजार अमेरिकी डलर आर्थिक सहयोग जुटाउने लक्ष्यका साथ चालिएको गोफन्डमी अभियानमा, हालसम्म दुर्इ सय भन्दा बढी सहयोगीहरुले करिब बाह्रहजार अमेरिकी डलर आर्थिक सहयोग गरिसकेका छन् ।
नेजाले यस विषम परिस्थितिबाट प्रभावित बिरामी केसी र उनको परिवारलाई मुक्ति दिलाउन, आर्थिक भरथेगका लागि सक्दो आर्थिक सहयोग र मनोबल बढाउनका लागि मानसिक सहयोग गरिदिन सबैलाई अनुरोध गर्दै केसीको सिघ्र पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेको छ।
केसीलाई आर्थिक सहयोग गर्नका लागि उपलब्ध गराइएको गोफन्डमीको लिंक यसप्रकार रहेको छ ।
प्रतिक्रिया