मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

सांगीतिक कार्यक्रम ‘अब नाच्छ अमेरिका’ लिएर नेपाली चार नारी कलाकारहरु अमेरिका भित्रदै

सांगीतिक कार्यक्रम ‘अब नाच्छ अमेरिका’ लिएर नेपाली चार नारी कलाकारहरु अमेरिका भित्रदै

पहिलो सांगीतिक प्रस्तुति बोस्टनमा हुने, तीज विशेष माहोलमा नाच्ने नचाउने


नेपाली पात्रो अनुसार नेपाली हिन्दू धर्मावलम्बीहरुको विशेष चाड हरितालिका तीज आउन अझै डेढ महिना बाँकी छ। तर, यसको चर्चा र चहलपहलले तिब्रता पाउन थालिसकेको छ। वर्ष दिनमा एक पटक आउने यो विशेष चाडलाई भव्यताका साथ मनाउन व्यक्ति, परिवार, समाज, संघ संस्थाहरु आवश्यक तयारीमा जुटिसकेका छन्।

सधै झैं यस वर्ष पनि तीज नजिकिदै गरेको आवास नेपाली सांगीतिक क्षेत्रले दिइनै सकेको छ। तीज लक्षित गीतहरु एक पछि अर्को गरी सार्वजनिक भइरहेका छन् भने, तीजको अवसर पारेर आयोजना गरिने सांगीतिक कार्यक्रमहरुको तिथि मिति पनि सार्वजनिक भइरहेका छन्। विशेषतः तीजको अवसरमा नारी कलाकारहरुलाई भ्याइनभ्याइ हुने गर्दछ। अझ तीज विशेष गीत र नेपाली लोक गीत गाउने कलाकारहरुको माग र भाउ ह्वात्तै बढ्ने गर्दछ। चल्तीका नारी कलाकारहरुका नेपाल भित्र र नेपाल बाहिर हुने कार्यक्रमहरुको चर्चाले तीजको चर्चा, चहलपहल, महत्व र रौनकताको पारोलाई ह्वात्तै चडाइदिने गर्दछ। त्यसको प्रभाव अमेरिकामा पनि पर्न थालिसकेको छ।

नेपालीहरुको विशेष चाड हरितालिका तीजलाई सांगीतिक माहोलमा हर्षोल्लासका साथ मनाउन अमेरिकाको विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमहरु गर्ने तय गरिसकिएको छ। यसैक्रममा, पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा चर्चाको शिखरमा रहेका चार कलाकारहरु करिश्मा ढकाल, रचना रिमाल, शान्ति श्री परियार र ज्योति मगरको प्रस्तुति रहने कार्यक्रमको अमेरिकामा निकै चर्चा भइरहेको छ। उक्त तीज विशेष कार्यक्रम ‘अब नाच्छ अमेरिका’ फ्लाइ नेपाको प्रस्तुतिमा अमेरिकाको विभिन्न सहरहरुमा आयोजना गरिदै छ।

अमेरिकाको विभिन्न सहरहरुमा दुइ महिनासम्म सांगीतिक दौडाहा हुने ‘अब नाच्छ अमेरिका’को सांगीतिक यात्रा, अमेरिकाको ऐतिहासिक सहर बोस्टनबाट प्रारम्भ हुने भएको छ। बोस्टन सहरमा यही आउदो अगष्ट १० तारिख शनिबार साँझ 47 Nichols Ave, Watertown, 02472 मा सांगीतिक कार्यक्रम गर्ने गरी आवश्यक तयारी गरिएको छ। उक्त कार्यक्रम आयोजना गर्नका लागि व्यवस्थापकीय नेतृत्व बोस्टनका लागि नेपालका पर्यटन प्रवर्धक तथा घरजग्गा कारोबारी मिलन गुरुङले लिएका छन्। उनले दिएको जानकारी अनुसार, अमेरिकामा हुने यस सांगीतिक कार्यक्रमको मुख्य आकर्षक कलाकारहरु करिश्मा ढकाल, रचना रिमाल, शान्ति श्री परियार र ज्योति मगर नेपालबाट सिधै बोस्टनमा उत्रने भएका छन्। उनीहरुले पनि सामाजिक सञ्जालमार्फत आफूहरु नाच्न नचाउन अमेरिका आउन लागेको जानकारी दिदै कार्यक्रमहरुमार्फत अमेरिकाबासी नेपाली समुदायसंग साक्षात्कार गर्ने जनाएका छन्।

कार्यक्रमको टिकट बिक्री खुला गरिसकिएको र बिक्रीका लागि लक्ष्य गरिएको टिकटहरु सिमित भएको गुरुङले जानकारी दिए। नेपाली गीत संगीतलाई अमेरिकामा प्रवर्धन गर्ने, नेपाली गीत संगीत तथा कलाकारहरुलाई सम्मान गर्ने, नेपाली समुदायकाबिच आपसी सम्बन्ध कसिलो बनाउने र शुभकामना आदानप्रदान गर्दै नेपालीहरुको महत्वपूर्ण पर्व तीज सामूहिक रुपमा हर्षोल्लासका साथ मनाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए। गुरुङले यस कार्यक्रममा सहभागी भइ रमाउन अग्रिम टिकट किनेर आफ्नो सिट सुरक्षित गर्न न्यु इङ्गल्याण्डबासी प्रवासी नेपालीहरुलाई अनुरोधसमेत गरेका छन्। आयोजकले कार्यक्रममा सहभागी हुनका लागि प्रति टिकटको मूल्य अग्रिम किनेमा ४० डलर र कार्यक्रम स्थलमा किनेमा ५० डलर तोकेको छ।

कार्यक्रमको आयोजकले जानकारी दिए अनुसार हालसम्म बोस्टन सहरसहित अमेरिकाको २१ स्थानहरुमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम गरिने भएको छ। यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ।