बोस्टन

प्राकृतिक विपत्तिले नेपालमा भएको जनधनको क्षतिप्रति अमेरिकामा शोक व्यक्त

प्राकृतिक विपत्तिले नेपालमा भएको जनधनको क्षतिप्रति अमेरिकामा शोक व्यक्त


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

अमेरिका, बोस्टन। नेपालमा हालै प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति अमेरिकामा रहेका प्रवासी नेपालीहरुले गहिरो शोक प्रकट गरेका छन्। उनीहरूले गत २०८३ साल भाद्र १० गते तदनुसार अगष्ट २६,२०२६ बुधबार बिहान घटेको विनाशकारी उक्त घटनाको स्मरण गर्दै जनधनको क्षतिप्रति गहिरो शोक व्यक्त गरेका हुन्।

अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि)ले आज अगष्ट २९,२०२६ शनिबार साँझ एभरेट सिटिको रिभरग्रिन पार्कमा शोक कार्यक्रमको आयोजना गरेको थियो। उक्त शोक कार्यक्रममा सहभागी भइ दीप प्रज्वलन गर्दै प्रवासी नेपालीहरुले गहिरो दु:खको अनुभूति गर्दै शोक व्यक्त गरेका थिए। उनीहरुले उक्त घटनाका कारण ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणसमेत गरेका थिए। सहभागीहरुले शोक प्रकट गर्ने क्रममा मृतकका परिवारहरुप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको सिघ्र पूर्ण स्वास्थ्यलाभका लागि प्रार्थना गरेका थिए।

Advertisement

शोक प्रकट गर्ने क्रममा बुद्ध धर्मका रिम्पोर्चे टुल्कु(अवतारी) र गुरु समन्त श्रीरत्न बज्राचार्यले मन्त्रोच्चारण गर्दै समस्त प्राणी जगतको कल्याण र विश्व शान्तिका लागि प्रार्थना गरेका थिए।

प्रार्थना गर्ने क्रममा निकै भावविह्वल देखिएका सहभागीहरुले नेपाल र नेपालीको शान्ति, सुरक्षा र यथा सिघ्र पुनर्निर्माण होस् भनी कामसमेत गरेका थिए। उनीहरुले मातृभूमिको पिडामा समानुभूति प्रकट गर्दै नेपाल र नेपालीप्रति साथ, माया र सद्भाव दर्साएका थिए।

न्यू इङ्गल्याण्ड क्षेत्रमा रहेका प्रवासी नेपालीहरुले उक्त प्राकृतिक विपत्तिका बेला सक्दो सहयोग गर्ने हेतुले विभिन्न माध्यमहरुबाट राहत स्वरुप रकम पठाइ रहेका छन्। यस क्षेत्रमा क्रियाशील नेपाली समुदायका विभिन्न संघ संस्थाहरू पनि राहत रकम सङ्कलन गरी नेपाल पठाउने अभियानमा जुटिरका छन्। यस सन्दर्भमा जिबिएनसिले पनि मातृभूमिले भोग्नु परेको यो विषम अवस्थामा साथमै रहेको जनाउदै सकेको सहयोग गरिदिन सबैसंग अपिलसमेत गरेको छ।