ह्युस्टन, टेक्सस। अमेरिका लगायत प्रवासमा आफ्नो छोरा-छोरीले नेपाली भाषा बोलुन्, नेपाली लेख्न र पढ्न पनि जानुन् भन्ने सबै अभिभावकको चाहना हुन्छ। अभिभावको चाहना हुँदा हुँदै पनि कतिपय बालबालिकाहरुले नेपाली बोल्न जाने पनि लेख्न-पढ्न नजान्ने थुप्रै उदाहरण छन् ।
नेपाली बालबालिका र अभिभावकको सोही समस्यालाई दृष्टिगत गरेर अन्तराष्ट्रिय साहित्य समाज ( आइएनएलएस) ह्युस्टन चाप्टरले ह्युस्टनमा रहेका नेपालीहरुको संस्थाहरुसंग सहकार्य गरेर छ वटा आइतवार नेपाली कक्षा संचालन गरेको थियो। ह्युस्टनमा रहेको पशुपतिनाथ मन्दिरस्थित हिमालयन कल्चरल सेन्टर र साइप्रस क्षेत्रमा संगसंगै चलाइएको भाषा कक्षामा विभिन्न उमेर समुहका करिब चार दर्जन बालबालिकाहरु सहभागी भएका थिए। नेपाली पाठशालाबाट नेपाली पढ्न- लेख्न नजान्ने बालबालिकाहरुले नेपाली साँवाअक्षर चिन्न-लेख्न जान्ने भएकाछन्। सहभागी बालबालिकाहरु, स्वयंसेवी शिक्षक- शिक्षिकाहरु र सहपाठीहरुसंगको सह-अध्ययनको मद्दतले नेपाली गीत गाउने, नाच्ने र कविता भन्ने समेत भएकाछन्।
आइएनएलएसद्वारा आयोजित नेपाली भाषा कक्षाको समर सेसनको समापन समारोहमा दर्जनौं बालबालिकाहरुको विभिन्न प्रस्तुति समावेश रहेको थियो भने समारोहको शुरुवात नेपाली राष्ट्रियगानको सामूहिक गायनबाट भएको थियो।
‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ जस्तो राष्ट्रिय गीत, आनी छोईंङको ‘फूलको आँखामा फूलै संसार’, माया रैछ र त भर रैछ नि’ लगायतका गीत मात्र होइन, भानुभक्तको कविता पनि बाचन भएको कार्यक्रमको संचालन समेत प्रमिथस त्रिपाठी, सुभान घिमिरे, प्रयान मल्ल र विजन अर्यालले गरेका थिए भने आइएनएलएसका बासु पौडेलले कार्यक्रम संचालनमा सहयोग गरेका थिए। सार्थक बराल, प्रमिथस त्रिपाठी, सुभान घिमिरे, सुदिन-सुदिश्ना गौतम, प्रिथक त्रिपाठी, इप्सित आचार्य, इशानी कँडेल, सृष्टि सापकोटा, रितु, प्रयन, इशु, प्रिशा लगायतका बालबालिकाहरुले आ-आफ्नो प्रस्तुति दिएका थिए।श्रीभिका र केयनले संयुक्तरुपमा सहभागीहरुलाई नेपाली शैलीमा स्वागत गरेका थिए।
बालबालिकाहरु आफैंले संचालन गरेको कार्यक्रममा नेपाली भाषामा उनीहरुले सिकेका गीत, कविता प्रस्तुत मात्र गरेनन्, गणेश-शिव मन्त्र, नृत्य र संक्षिप्त नाटक समेत प्रस्तुत गरेका थिए।
स्वयंसेवी शिक्षकहरु प्रतिभा पाण्डे, नीलहरी आचार्य, सुम्निमा गौतम र भाषा कक्षाका विद्यार्थी सार्थक बरालले नेपाली पाठशालाको अनुभव सुनाएका थिए। यसैगरी अभिभावकको तर्फबाट हरी न्यौपानेले भाषा कक्षामा आफ्ना छोरा-छोरीलाई सहभागी गराएपछिको अनुभव सुनाएका थिए भने करिब १२५ माइल टाढाबाट छोरालाई भाषा कक्षामा ल्याएका विष्णु कार्कीको बच्चाहरुलाई नेपाली सिकाउने चाहनाको सबैले प्रशंसा समेत गरेका थिए।
कार्की जस्तै देश बाहिर भावनाको नेपाल बाँच्ने नेपालीहरुको आफ्नो भाषा र संस्कृतिप्रतिको लगावले अमेरिकामा सक्रिय नेपालीहरुको सामुदायिक गतिविधिहरु निर्देशित हुने गरेकाछन्। यस्तै गतिविधिहरुको एउटा पाटो हो—आफ्ना नानी-बाबुहरुलाई नेपाली भाषा र संस्कृति सिकाउने नेपाली पाठशाला।
प्रवासमा नेपालीहरुले आफ्ना सन्तानहरुलाई नेपाली भाषा र संस्कृति सिकाउने अभियानले नेपालीहरुको धेरै बसोबास भएको शहरुहरुमा प्राथमिकता पाइरहेको छ। गतसाता डालासमा डा. चिन्तामणि योगीको योग/ध्यान र आध्यात्मिक प्रवचन सहितको १० दिने समरक्याम्प सम्पन्न भएको थियो, जहाँ सयौंको संख्यामा बालाबालिकाहरुको सहभागिता रहेको थियो। ह्युस्टनमा समर सेसन पश्चात अनलाइन कक्षा चलाउने तयारी शुरु भइसकेको छ।
नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्ने कार्यमा प्रवासमा रहेको दोश्रो पुस्ता सक्रिय हुन थालेको महशुस हिजोको कार्यक्रममा सहभागी भएका धेरै अभिभावकहरुलाई भएको छ।
अन्तराष्ट्रिय साहित्य समाज ह्युस्टन चाप्टरको सक्रियतामा हिजो आइतवार समापन भएको पहिलो चरणको भाषा कक्षाको निरन्तरता आगामी सेप्टेम्वरदेखि भर्च्यूअल माध्यमबाट गर्ने अध्यक्ष सतिश त्रिपाठीले जानकारी गराएकाछन्।
बालबालिकाहरु आफैंले नेपाली भाषामा कार्यक्रम संचालन गरेको र विविध प्रस्तुति समेत दिएकोमा सहभागी अभिभावकहरुले खुसी व्यक्त गरेकाछन्। बालबालिकाहरुले नेपाली भाषा र संस्कृतिप्रति चाख राख्न थाल्नु भनेको हाम्रो अमेरिकामा नै जन्मे-हुर्केका नानी-बाबुहरुको पुस्तासम्म नेपाली भाषा र संस्कृतिको निरन्तरता पनि हो, सहभागी एक अभिभावकको प्रतिक्रिया थियो। ‘हजुरबा-हजुरआमासंग नेपालीमा बोल्दिउन्, आफू भन्दा ठूलालाई आदर-सम्मान गरिदिउन् भन्ने चाहना सबैको हुन्छ। त्यो चाहना यस्ता भाषा-कक्षाहरुले पुरा गर्ने संभावना बढाएको एक अभिभावकको भनाई थियो।
‘नेपालीमा बोले पनि अक्षर केही नचिन्ने मेरी छोरी अहिले घरका सबैको नाम नेपालीमा लेख्न सक्ने भएकीछिन्’—नेपाली कक्षाको बारेमा अनुभव सुनाउँदै आफ्नो छोरीलाई नेपाली कक्षामा ल्याएका अभिभावक हरी न्यौपानेको अनुभव थियो।
प्रवासमा नेपालीहरुको पहिचानको मुख्य आधार नै भाषा हो। भाषा, संस्कृति, रहनसहनले प्रवासी नेपालीहरुलाई फरक भाषा, संस्कृति र रहनसहन भएको ठाउँमा समेत फरक पहिचान दिएको छ। नेपाली भाषा बोल्ने भएकैले नेपालीमूलका भुटानीहरु समेत नेपाली समुदायसंग सहज घुलमिल भएर रहेकाछन्। नेपाली भाषी भुटानीहरुले अमेरिकामा नेपाली भाषा, संस्कृति, गीत-संगीतको श्रीबृद्धिमा समेत योगदान दिएकाछन्।
प्रायः सबै सार्वजनिक कार्यक्रमहरु सामुहिकरुपमा आयोजना गर्ने ह्युस्टनका नेपाली समुदायले बालबालिकाहरुका लागि नेपाली भाषा कक्षाको संचालन र समापन समारोह समेत आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ति समारोहको रुपमा आयोजन गरेकाछन्। आइएनएलएस ह्युस्टन चाप्टरले नेतृत्व गरेको भाषा कक्षा संचालनमा नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच), सिर्जनशील नेपाली समाज (सिएनएस), गुल्मी समाज र नेप्लिज हेरिटेज युनियन ( एनएचयु) समेतको सहयोग रहेको थियो।
आइएनएलएसका अध्यक्ष सतिश त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा एनएएचका अध्यक्ष रविन श्रेष्ठ, गुल्मी समाजका अध्यक्ष लक्ष्मण भण्डारी, सिएनएसका अध्यक्ष कृष्ण न्यौपाने, एनएचयूका महासचिव रमा भट्टराई, सहित दर्जनौं अभिभावक र बालबालिकाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। मन्दिरका पुरोहित गुरु दिलिप शास्त्रीद्वारा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ भएको थियो।
प्रतिक्रिया